योजनाको सम्झौताका लागि नआउन नगरपालिकाद्वारा सूचना जारी, मेयरलाई छैन जानकारी



न्युज अफ नेपाल, बैतडी ।

बैतडीको मेलौली नगरपालिकाले योजनाहरुको सम्झौताका लागि नआउन सूचना जारी गरेको छ । आन्तरीक श्रोत र राजश्व बाँटफाँटको रकमबाट विनियोजित बजेटको योजना तत्काल सञ्चालन गर्न नसकिने जनाएको नगरपालिकाले छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टद्वारा जारी सूचनामा आन्तरिक श्रोत तथा राजश्व बाँटफाँट अन्तरगत स्वीकृत भएका विकास निर्माणका योजनाहरु श्रोत अभावका कारण सञ्चालन गर्न नसकिने भनिएको छ ।

चालु आर्थिक बर्ष २०७८/०७९मा बजेट स्वीकृत भएको भएपनी सम्झौता बिना काम नगर्न सूचनामा भनिएको छ । नगरपालिकाका कुनै व्यक्ति वा पदाधिकारीहरुले मौखिक रुपमा काम गर्न भनेमा भुक्तानी नदिइने सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृतको यस कदमका कारण स्थानिय उपभोक्ताहरु मर्कामा परेकाछन् भने, नगरप्रमुख नै अचम्मित भएकाछन् ।

उपभोक्ता समिति गठन भई काम सम्पन्न समेत गरिसकेका योजनाहरुको भुक्तानी नदिएको सेवाग्राही बताउँछन् । वडा न।५का भरतसिहं पुजाराले काम सम्पन्न गरेर भुक्तानी नपाएको गुनासो गरे । नगरपालिका भवनको ठेक्का पाएका ठेकेदार बिनोद बिष्टले भुक्तानि नपाएको गुनासो गरे । आफूहरु दैनिक भुक्तानीका लागि आउने गरेपनी रित्तो हात फर्किने गरेको उपझोक्ता समिति र ठेकेदारहरु बताइरहेकाछन् ।

प्रमुख प्रशासकीय अधिकृतले निकालेको उक्त सूचनाका बिषयमा नगर प्रमुख कृष्णसिंह नायक लगायतका केहि जनप्रतिनिधिहरुलाई जानकारी नै छैन् । नगर प्रमुख नायकले भने,‘कसको इसारामा यो सूचना जारी गरियो हामीलाई थाहा छैन् । कार्यपालिकाले बनाएको बजेट नगरसभाबाट पास भैसकेपछि के कारणले काम रोक्नुभो ? किन बढी जान्ने हुनुभयो ? हामी यो विषयमा अनविज्ञ छौँ । जे समस्या हो त्यो विषयमा छलफल गर्नुपर्दथ्यो ।

म संग कुनै सल्लाह नै भएको छैन् मैले त एकजना सेवाग्रमहीबाट सूचना बारे जानकारी पाएको हुँ । अब कार्यपालिकाको बैठक बोलाएर समस्या समाधान गर्ने छौँ ।’ स्वीकृत बजेटको सम्झौता गरि काम सञ्चालन गर्नुपर्ने उनको भनाई छ । यसै चैत महिनामा सबै कामकाज सम्पन्न गरिसक्ने लक्ष्य राखेकोमा हाकिमकै कारण ढिलाई भएको उनको गुनासो छ ।

यता प्रमुख प्रशासकीय अधिकृत भट्टले बजेट घाटाका कारण सम्झौता रोक्का गरेको बताए । उनले भने,‘गत आर्थिक वर्षकै ३ करोड रकम तिर्न बाँकी छ । यस बर्ष झन ५करोड बजेट छुट्याइएको छ, बजेटको सुनिश्चितता छैन् । पुरानो तिर्न बाँकी भएका बेला नयाँ करोडौँ रकम कँहाबाट ल्याउने ? आगामी बर्षमा अर्का जनप्रतिनिधि आएमा के गरौँला ?

आन्तरीक आम्दानीमा ५४ लाखको लक्ष्य छ, बजेट ५ करोड बढी छुट्याएका छन् । काम गरेपनी भुक्तानीका लागि सुनिश्चीत नभएकाले सम्झौता रोक्का गरिएको हो ।’ विगतका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछी भट्ट ३ महिना अघि नगरपालिकामा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्