चीनबाट सिकौं !



छिमेकी मुलुक चीनबाट शुरु भएको कोरोना महामारीले पुनः चौथो चरणको महामारीका लागि त्यही मुलुकलाई स्रोत बनाएको छ । पछिल्लो जानकारी अनुसार चीनमा एकै दिन कोरोनाको नयाँ लहरबाट ५ हजारभन्दा बढी संक्रमणमा परेका छन् । हरेक दोस्रो दिन पहिलो दिनको दाँजोमा दोब्बर संख्यामा कोरोना संक्रमण देखिनुले यो क्रम उच्च विन्दुतर्फ फैलिदै गरेको पुष्टि हुन्छ । चीनमा चैत्र १ गते मंगलबार एकै दिन ५ हजार २ सय ८० नयाँ कोरोना संक्रमित देखिए । स्थानीय अधिकारीहरुका अनुसार यो संख्या चीनमा संक्रमणको दुई वर्ष यताकै सबैभन्दा ठूलो रहेको नेसनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

चीनमा कोरोना संक्रमण वृद्धि भैरहँदा नेपाल सरकारले पनि विगतबाट पाठ सिकेर समयमै सचेतना अपनाउनु आवश्यक देखिन्छ । नेपालमा यतिबेला आर्थिक मन्दीको संकेत प्रष्टै देख्न सकिन्छ । नजिकिएको स्थानीय निर्वाचन र बैंकहरुसँग थप लगानी गर्न या आफैले जम्मा गरेको रकम समेत समयमा चाहेजति निकाल्न नसक्ने अवस्था आउनु मन्दीकै संकेत छ । यस्तो अवस्थामा नेपालमा विगतमा जस्तै कोरोना महामारी फैलियो भने नियन्त्रणका लागि आवश्यक पर्ने औषधि, उपकरण, स्वास्थ्यकर्मी, तलब, भत्ताको व्यवस्थापन चुनौती बन्नसक्छ । विश्व स्वास्थ्य संगठनले डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर विकसित भएको नयाँ भेरियन्टले चौथो लहर ल्याउनसक्ने चेतावनी पहिला नै दिएको हो । यतिबेला कोरोना संक्रमणकै कारण चीनका १० सहरमा लकडाउन शुरु गरिएको छ । त्यहाँ ३ करोडभन्दा बढी मानिस फेरि घरमै थुनिनुपरेको छ । यो अवस्था कहिलेसम्म रहन्छ भन्नसकिन्न । प्रायः सबै जनतालाई खोप लगाउने चीनको अवस्था यो छ भने, यता नेपालमा १२ वर्ष मुनिका बालबालिका सहित हालसम्म पहिलो मात्रा पनि खोप नलगाउँने जनसंख्या अझै ४० प्रतिशत रहेको छ । यस संख्याले किन कोरोना विरुद्धको खोप लगाएन भन्ने विषयमा सरकारमा कुनै चासो देखिन्न । विश्वका खोप उत्पादक मुलुकहरुले गरेको अनुसन्धान अनुसार कोरोना विरुद्धको खोप लगाउनेहरुभन्दा खोप नलगाउँने नै कोरोना संक्रमणबाट बढी प्रभावित भएको रिपोर्ट सार्वजनिक भैरहेको अवस्थामा नेपालले आम नागरिकलाई खोपको पहुँचमा ल्याउन गम्भीर रुपमा लिन नसकेकै प्रमाणित हुन्छ ।

सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणले फेरि चीनलाई अत्याएको छ । एक साताको अवधिमा बेइजिङ, सांघाईलगायत ग्वाङ्डोङ, जियाङ्सु, शानडोङ र झेजियाङ प्रान्तमा कोभिडका नयाँ बिरामीहरु बढेका छन् । एक साताकै दाँजोमा चीनमा कोरोना संक्रमितको संख्या वृद्धि हुँदैगयो भने चीनलाई कोरोना संक्रमण नियन्त्रणमा लिन अप्ठ्यारो अवस्था सृजना हुनसक्ने विज्ञहरुले औल्याएका छन् । यस्तो अवस्थामा नेपालले कोरोना संक्रमणलाई यो केही हैन भनेर चुप लागेर बस्ने बेला छैन । सरकारले पटक–पटक एउटै गल्ती नदोहोर्याओस् र आफ्ना नागरिकलाई सचेत बनाउनुका साथै आवश्यक तयारीमा जुटोस् । नागरिकहरुमा पनि कोरोना बिदा भयो भन्ने भ्रम सिर्जना भएको छ, मास्क लगाउन छोडिएको छ भने भेलाहरु यत्रतत्र हुनथालेका छन् । यो गम्भीर त्रुटि हो भन्ने तथ्य चीनबाट सिकौं !

प्रतिक्रिया दिनुहोस्