गठबन्धनमा अविश्वास



स्थानीय निकाय निर्वाचनको मिति नजिकिएसँगै दलहरुबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । पाँच दलीय गठबन्धन कायम राख्दै आउँदो स्थानीय निर्वाचनमा सँगै अघि बढ्ने दाउमा रहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको चाहनामा नेपाली कांग्रेस बाधक बन्ने देखिएपछि माओवादी केन्द्र कांग्रेसप्रति आक्रामक बन्दै गएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुका कारण सत्ताको सिंहासनमा पुगेको कांग्रेसले जथाभावी बोल्नु अनुचित रहेको बताउनुले गठबन्धन धरापमा पर्न लागेको हो कि भने शंका गर्न सकिन्छ । सत्ताका लागि जस्तोसुकै कठोर निर्णय गर्न बाध्य हुनुभएका प्र्रचण्डको पछिल्लो अभिव्यक्तिलाई कांग्रेसजनहरुले नै प्रश्न गर्न थाल्नुले कतै गठबन्धन भत्कने त होइन भन्ने विश्लेषण गर्न थालिएको छ । सत्ता गठबन्धनबीचको अविश्वास बढ्दै जानुले आउँदो स्थानीय निर्वाचनमा उनीहरुबीच गठजोड नहुने हो कि भन्ने आशंका पैदा गरिदिएको छ । आउँदो निर्वाचनमा कांग्रेससँग जसरी पनि गठबन्धन गरेर अघि बढ्ने माधव नेपालको चाहनामा पनि धक्का लाग्न सक्छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने पाँच दलीय गठबन्धनको योजनामा कांग्रेस बाधक बन्ने देखिएपछि सत्तारूढ दलबीच नै अविश्वास पैदा हुनु पक्कै राम्रो होइन । मुलुकको विकास भन्दा पनि आफ्नो दललाई आगामी निर्वाचनमा कसरी आफ्नो उपस्थिति देखाउने भन्ने चिन्ता दलहरुबीच हुनुले उनीहरु मुलुकको विकासभन्दा पनि आफ्नो दललाई कसरी बलियो बनाउने भन्ने दाउमा लाग्नुले उनीहरुको उद्देश्य के हो भन्ने प्रस्ट हुन्छ । अहिलेको आवश्यकता के हो ? मुलुकलाई कसरी अगाडि बढाउनुपर्दछ भन्ने दलहरुबीच प्रस्ट भिजन नहुँदा अस्थिरतातर्फ मुलुक अघि बढेको हो कि भन्ने चिन्ता गर्न थालिएको छ । मुलुकको विकासका लागि दलहरुबीच जुन एकता हुनुपर्ने थियो त्यो हुन सकेको देखिँदैन । दलहरु आ–आफ्नो दलको डम्फु बजाउन व्यस्त रहनुले पनि मुलुकप्रति कोही चिन्तित भएको देखिँदैन । मुलुक रहे दलहरुको शासन गर्ने होला देशै नरहे कसमाथि शासन गर्ने ? यो अहम् प्रश्न हो । अहिलेको परिस्थिति हेर्दा मुलुकमा देखिएको तमाम समस्याको समाधान कसले गर्ने ? अहिले मुलुकभर अचाक्ली महँगी बढेको छ । जनताको दैनिकी नै समस्यामा पर्दै गएको छ । सामान्य आय भएका मानिस शहरमा बस्ने अवस्था छैन । सरकारलाई यस विषयमा कुनै चिन्ता भएको देखिँदैन ।

अहिले बढ्दै गएको महँगी नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदममा सरकार असफल हुँदै गएको छ । यसतर्फ जनताले बेलैमा नसोच्ने हो भने मुलुक बर्बादीतर्फ नजाला भन्न सकिँदैन । त्यसैले सबै निर्मम बन्नु जरुरी दखिएको छ ।

प्रतिक्रिया दिनुहोस्