फुल कन्ट्याक्टमा शनि र मञ्जु विजेता



छैटौं राष्ट्रिय महिला तथा पुरुष तौल समूह फुलकन्ट्याक्ट (क्योकुसिन–सेईसिन) कराते तथा प्रथम गोदावरी मेयर कप शनिबार भव्यताका साथ सम्पन्न भएको छ । पु्रुष खुल्लातर्फ नेपाली सेनाका शनि शिं सुनारले ललितपुरका विजय घ्याबा तामाङलाई हराएर स्वर्ण जिते । कास्य पदक बाराका साहिल श्रेष्ठले हासिल गरेका हुन् । ५५ के.जी तौल समूहमा सेनाका सुनील कुँवरले ललितपुरका हिमाल राईलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । कास्य पदक सेनाका भूपेन्द्र वलीको हातमा गयो ।

५० के.जी तौल समूहमा ललितपुरका सुनील तामाङले जित्दा बाराका निखिल राउत रजतमै खुम्चिए । पर्साका रविकिशन यादवले कांस्य पदक जिते । ४५ केजी तौल समूहमा वाराका विशाल कुशवार माझिले हात पारे । ललितपुरका सञ्जीव बम्जन र अनिल नगरकोटीले क्रमशः रजत र कांस्य हासिल गरेका थिए । ४० के.जी तौल समूहमा स्वर्ण पदक काठमाडौंका प्रज्वल पाण्डेले हासिल गरे । रजत र कांस्य क्रमशः पर्साका विशालकुमार पटेल र पर्साका शिवम कुशवाहले जितेका थिए ।

महिला खुल्ला तौल समूहमा सेनाकी मञ्जु विकले सेनाकै अनुपा नेपालीलाई हराएर स्वर्ण जितिन् । कांस्य पदक काठमाडौंकी सुष्मा तामाङले हासिल गरेकी थिइन् । ५० के.जी तौल समूहमा बाराकी संजिता श्रेष्ठले स्वर्ण जित्दा महोत्तरीकी सीमा बिकले रजत प्राप्त गरिन् । सेनाकी शान्ति थापामगरले कांस्यमै चित्त बुझाएकी थिइन् ।

यसैगरी, ४५ के.जी. तौल समूहको स्वर्ण पदक ललितपुरकी सलोनी नगरकोटीले जितिन् । उनले ललितपुरकै अनुशा रुम्बालाई हराएकी थिइन् । कास्य पदक सेनाकी सुचिन तामाङले हासिल गरेकी थिइन् । ४० के.जी तौल समूहमा स्वर्ण पदक भिडन्तमा बाराकी पूर्णिमा श्रेष्ठले बाराकै आरती श्रेष्ठलाई हराएकी थिइन् । यता, महोत्तरीकी चन्दा श्रेष्ठले कांस्य जितिन् ।

उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता महिला तथा पुरुष खेलाडीलाई जनही दश हजार, रजत पदक विजेतालाई ५ हजार तथा कांस्य पदक विजेता र चौथो स्थानलाई ३ हजार नगद पुरस्कार वितरण गरिएको थियो । प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र केन्द्रीय संघका अध्यक्ष तथा ब्रान्चचिफका साथै विश्व क्योकुसिन काई कराँते महासंघका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठले विभिन्न तौल समूहका शीर्ष चारमा आउने खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्