रूस झनै आक्रामक



काठमाडौं ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको अन्तर्राष्ट्रिय समुदायहरूले चर्को विरोध जनाइरहेका बेलामा रूस झनै आक्रामक बन्दै गएको छ । रूसले युक्रेनमा आक्रमण जारी राखेको आठौं दिन बिहीबार रूसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले रूसलाई सुरक्षा चुनौती हुने कुनै पनि पूर्वाधारहरू युक्रेनमा रहन नदिने चेतावनी दिनुभएको छ ।

रूसको राजधानी मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रूसी विदेशमन्त्री लाभ्रोभले नेटो संगठनले आफ्नो प्रभुत्व देखाउन खोजेको आरोप लगाउँदै रूसको राष्ट्रिय हितलाई कम आँक्न दिन नसकिने प्रस्ट पार्नुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुन सक्ने र त्यसो भएमा रूसले परमाणु युद्ध गर्न सक्ने बताएको टिप्पणी गर्दै भन्नुभयो– ‘हामी विश्वयुद्धको सोचमा छैनौं । त्यो कुरा केवल पश्चिमा नेताहरूको मस्तिष्कमा छ, रूसी जनताको मस्तिष्कमा छैन ।’ उहाँले रूसविरुद्ध युद्धको योजना बनिसकेको दाबी गर्दै भन्नुभयो– ‘केही विदेशी नेताहरूले रूसविरुद्ध युद्धको योजना बनाइसकेका छन् । यदि वास्तविक युद्ध शुरू भयो भने त्यस्तो योजना बनाउनेहरूले सोच्नुपर्नेछ ।’

रूस र युक्रेनका अधिकारीहरूबीच बिहीबार बेलारूसमा दोस्रो वार्ता हुन लागेको जिकिर गर्दै रूसी विदेशमन्त्री लाम्रोभले भन्नुभयो– ‘दोस्रो चरणको वार्ता शुरु हुँदै छ । युक्रेन समस्याको समाधान निस्कनेमा शंका छैन ।’

यसैबीच, नर्वेली शरणार्थी परिषद्का महासचिव जेन इगल्यान्डले युक्रेनमा तत्काल युद्धविरामका लागि आग्रह गर्नुभएको छ । उहाँले बमबारी र सैन्य आक्रमणको बीचमा मानवीय सहायताकर्मीलाई काम गर्न गाह्रो भइरहेको बताउँदै भन्नुभयो– ‘हाम्रा सहायताकर्मीले लगातारको बमबारी र आक्रमणका बीचमा पीडित समुदायलाई मानवीय सहयोग गर्न सकिरहेका छैनन् । थुप्रै नागरिक घाइते भएका छन् । विद्युत् आपूर्ति, स्वास्थ्य सेवा, सफा खानेपानीको अभावका साथै आवश्यक सामग्री किनमेल गर्ने पसलको पनि अभाव छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय आपत्कालीन सहायताकर्मीले त्यहाँ काम शुरु गर्न एकदमै हतार भइसकेको छ ।’

त्यसै गरी, शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलिप्पो ग्रान्डीले ट्विट गर्दै रूसलाई हतियार बिसाउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ– ‘बन्दुकहरू बिसाउन बिन्ती गर्दछु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस् ।’

एकातिर रूस र युक्रेनबीच वार्ता जारी रहेको छ भने सँगसँगै रूसी सेनाले आक्रमणलाई पनि अझै तीव्र बनाउँदै लगेको छ । रूसी सेनाले दक्षिणी युक्रेनको खेरसनमा कब्जा जमाइसकेको छ भने राजधानी किभ, उत्तरपूर्वी शहर खारकिभ र दक्षिणपूर्वी शहर मरिउपोलमा पनि आक्रमण जारी राखेको छ । मरिउपोलको नगर परिषद्ले रूसी सेनाले जानाजान नागरिक पूर्वाधारहरूमा आक्रमण गरेको र नाकाबन्दी गर्ने प्रयास गरिरहेको जनाएको छ । रूसी सेनाले बिहीबार उत्तरी युक्रेनको चेरनिहिभ क्षेत्रमा दुईवटा विद्यालय र एउटा निजी घरमाथि बमबारी गरेको छ । उक्त आक्रमणमा परी ९ जनाको मृत्यु भएको र ४ जना घाइते भएका क्षेत्रीय गभर्नरले बताएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा किभमा अत्यावश्यक सामग्रीको पर्खाइमा पसलबाहिर लाइन लागेका मानिसको भीड, जलिरहेका भवन र सेनाका बख्तरबन्दका लामा ताँतीको तस्वीर तथा भिडियोहरू सार्वजनिक भइरहेको छ । साथै विभिन्न सीमा क्षेत्रमा युक्रेन छाड्नेको ताँतीको दृश्यहरू पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको हेडलाइन बनिरहेको छ । रूसी आक्रमण तीव्र हुँदै गर्दा युक्रेनबाट अहिलेसम्म १० लाखभन्दा बढी मानिस भागेर छिमेकी राष्ट्रहरूमा शरण लिन पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्