युक्रेनमा रुसी हमलाः १० लाख युक्रेनीले छोडे देश

शृंखलाबद्ध बिस्फोटले हल्लियो किभ



किभ ।

किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ ।

ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्, ‘बन्दुकहरु बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस ।’

युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रुपमा विस्थापित हुने र उनीहरुलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।

शृंखलाबद्ध बिस्फोटले हल्लियो किभ
किभ–युक्रेनको राजधानी किभमा बिहीबार बिहान शृंखलाबद्ध बिस्फोटहरु गराइएका छन् । रुसी सेनाले गराएका ति बिस्फोटका कारण राजधानीवासी आतंकित बनेका थिए । एक बिहानै पाँच ओटा स्थानमा शंखलाबद्ध बिस्फोटहरु भएका थिए । तीमध्ये दुई शक्तिशाली बिस्फोटहरु युक्रेनको राजधानी सहरमा भएका थिए ।

त्यस लगत्तै दुई ओटा बिस्फोटहरु मेट्रो स्टेसनहरुमा गराइएका थिए । अर्काे बिस्फाेट राजधानी नजिकै भएकाे थियाे । हवाई आक्रमणका साइरहनहरुले सहरमा थप त्रास सृजना गरेको थियो ।

रुसी हमलाको आज आठौँ दिन पनि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा मिसाईल तथा बम प्रहार गरेको छ । सेनाले प्रहार गरेको मिसाइल हमलामा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्णरुपमा क्षति भएको छ ।

बिस्फोटका कारण लागेको आगो निभाउन अग्नि नियन्त्रकहरु परिचालन गरिएका छन् । यसैबीच, रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले तेस्रो विश्व युद्ध आणविक र झन विनाशकारी हुने चेतावनी दिएका छन् । यसअघि राष्ट्रपति भ्लादमिर पुटिनले रुसी सेनामाथि जाइलागे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिएका थिए ।

न्युज कारखाना 

प्रतिक्रिया दिनुहोस्