युक्रेन–रूस युद्धको प्रभाव



लन्डन, (एजेन्सी)।

यूक्रेन र रूसबीच चलिरहेको युद्धले रूसका खेल टिमहरुलाई प्रभाव पारिरहेको छ । अघिल्लो दिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबल संघ (यूएफा) ले रुसको फुटबल टिमलाई प्रतिबन्ध लगाएको थियो । यस क्रममा बुधबार अन्य खेल संस्थाहरुले रुसलाई थप झट्का दिएका छन् । साथै रुसले जुन प्रतियोगिता आयोजना गर्ने अवसर पाएको थियो, त्यो पनि फिर्ता लिइरहेको छ । त्यस्तै रुसको प्रायोजन अधिकार पनि छिनिइरहेको छ ।

टेनिस, साइक्लिङ, फर्मूला वान, एथ्लेटिक्स, शुटिङ, ब्याडमिन्टन, हक्की र पारालिम्पिक खेल कमिटीहरुले पनि रुसलाई प्रतिबन्ध लगाएका छन् । यस्तै रुसलाई साथ दिइरहेको बेलारुसलाई पनि कार्वाही चलाइरहेको छ । टेनिसको अन्तर्राष्ट्रिय टेनिस महासंघले रुस र बेलारुसलाई टेनिसका प्रमुख प्रतियोगिताबाट प्रतिबन्ध लगाउने निर्णय लिएको छ ।

अन्तर्राष्ट्रिय टेनिस महासंघले १ मार्चमा एक विज्ञप्ति जारी गरी रुस र बेलारुसलाई डेभिस कप, बिली जीन किंग कपबाट प्रतिबन्ध लगाएको हो । साथै यी देशहरुको सदस्यता पनि रोकिएको छ । यस्तै अक्टोबर २०२२ मा मास्कोमा हुने महिला र पुरुष टेनिस प्रतियोगिता पनि स्थगित गरिएको छ । तर, रुस र बेलारुसका खेलाडीले ग्रान्डस्लाम र अन्य प्रतियोगितामा भने भाग लिन सक्नछन् । तर, उनीहरुले देशको नाम प्रयोग गर्न पाउनेछैनन् ।

अन्य खेलमा प्रतिबन्ध
फर्मूला वान रेसिङ आयोजना गर्ने संस्था डी अटोमोबाइल अन्तर्राष्ट्रिय महासंघले फर्मूला वान रेसिङमा रुसको झण्डा र राष्ट्रिय गीतमा रोक लगाएको छ । तर, रुसका चालकहरुले रेसमा भाग लिन सक्नेछन् । यसअघि महासंघले रुसमा हुने ग्रान्डप्रिक्स रद्द गरेको थियो ।

रुस र बेलारुसका साइक्लिङ टिमहरुलाई पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनबाट रोकेको छ । साइक्लिङको संस्था यूसीआईले एक वक्तव्यमार्फत् रुस र बेलारुसका कुनै पनि राष्ट्रिय टिमलाई कुनै पनि अन्तर्राष्ट्रिय इभेन्टमा भाग लिनबाट रोकेको जनायो । ती देशका खेलाडीले भने व्यक्तिगतरुपमा खेल्न भने पाइने उक्त वक्तव्यमा उल्लेख थियो । त्यस्तै एथ्लेटिक्स र भलिबलका अन्तर्राष्ट्रिय संस्थाले पनि रुसी टिमलाई भाग लिनबाट प्रतिबन्ध लगाएका छन् । साथै रुसको झण्डा र राष्ट्रिय गानमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

यूक्रेनका खेलाडी युद्धमा मारिए
रुस र यूक्रेनबीचको जारी युद्धमा युक्रेनका दुई फुटबल खेलाडी मारिएका छन् । भिताली सैपिलो र डेमित्रो मार्टनेन नामका खेलाडी रुसी हमलामा मारिएका हुन् । २१ वर्षका भिताली कर्पाटी लिभ्सबाट खेल्थे । भिताली ट्यांक कमान्डरको रुपमा यूक्रेनको सेनामा सामेल भएका थिए । अर्का खेलाडी डेमित्रो बमबारीमा मारिएका थिए । रुसी सेनाको एक बम डेमित्राको घरमा खसेको र त्यही उसको मृत्यु भएको उनको क्लब गोस्टमालले पुष्टि गरेको थियो ।

यूक्रेनी खेलाडीले खेलिन्
यूक्रेनकी एलीना स्विटोलीनाले रुसी खेलाडीविरुद्ध खेल बहिष्कार नगरी खेलेकी छन् । स्विटोलीनाले मान्टेरी ओपन टेनिस प्रतियोगिताको पहिलो चरणमा एनास्तासिया पोटापोभाविरुद्ध खेलेकी हुन् । सो खेल उनले ६–२, ६–१ ले जितिन् । यसअघि उनले जबसम्म पुरुष र महिलाका अन्तर्राष्ट्रिय टेनिस महासंघले रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध नगरेसम्म नखेल्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्