भगवती, सरस्वती र ब्वाइजको जित



काठमाडौं ।

शहीद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब, सरस्वती युथ क्लब र ब्वाइज युनियनले विजयी शुरुवात गरेका छन् । बुधबारदेखि शुरु भएको यस सिजनको ‘बी’ डिभिजनअन्तर्गत खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई ३–१ ले हरायो ।

टिमलाई जित दिलाउन अनिल गुरुङ, रमेश उरव र मिलान खड्काले गोल गरेका हुन् । झम्सीखेलको तर्फबाट मनकुमार राईले एक गोल फर्काए । खेलको पहिलो हाफ १–१ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रमेश र मिलानले गोल गर्दै श्री भगवतीको लागि ३ अंकको बन्दोबस्त गरेका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको अर्को खेलमा सरस्वतीले बाँसबारी क्लबलाई ३–१ ले पराजित गर्यो । टिमको जितमा विक्रम विसुंखे, श्रीजल लामा र भूपेन्द्र शाहीले गोल गरे । बाँसबारीका लागि विके राईले एक गोल फर्काएका थिए । विकेटले शुरुवाती गोल गरेर टिमलाई १–० को अग्रता राखे, तर सरस्वतीले यसको जवाफमा तीन गोल गरेर बाँसबारीलाई हराएको थियो ।

अर्को खेलमा ब्वाइज युनियनले वीरगञ्ज युनाइटेडलाई १–० ले हराएर तीन अंक जोड्यो । टिमलाई जित दिलाउन मिलन लिम्बूले गरेको एक गोल नै पर्याप्त भएको थियो । ‘बी’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहेको छ । लिगमा शीर्ष दुईमा रहने टिम ए डिभिजनमा उक्लिनेछ भने पुछारका दुई टिम ‘सी’ डिभिजनमा झर्नेछन् ।

श्री भगवतीलाई टोखा नगरपालिकाको साथ
काठमाडौंको उत्तरीभेगस्थित प्राचनि सहरमा रहेको टिम श्री भगवती क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ । ‘बी’ डिभिजन फुटबल प्रतियोगितामा खेल्न टिमलाई टोखा नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए । क्लबको ३१ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मेयर अधिकारीले आफ्नो कार्यकाल लम्बेको खण्डमा यस रकममा वृद्धि गरी अर्को वर्षदेखि ५० लाख पुर्याउने समेत बताए ।

यसका साथै क्लबलाई नगरपालिकाभित्र रहेको ११ वडा मध्ये ४ र ५ वडा बाहेक अन्य वडाहरुले नगद तथा खेल पोशाकको सहयोग गरेका छन् । समष्टिगतरूपमा भन्नुपर्दा सम्पूर्ण नगरपालिकाले टोखाको एक मात्र एन्फा ‘बी’ डिभिजन क्लबलाई टोखा नगरकै अपनत्व प्रदान गरेको क्लबका अध्यक्ष इन्द्र राज जोशीले बताए ।

क्लबलाई ‘बी’ डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य संघ संस्थाले पनि सहयोग गरेको क्लबका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य रमेश नापितले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्