सभामुखको सचिवालयको आपत्ति

0
Shares

काठमाडौं, (नेस) ।

सभामुखको भूमिकाको विषयलाई लिएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिप्रति सभामुख अग्नि सापकोटाको सचिवालयले आपत्ति जनाएको छ । देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको सचिवालयले बताएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख छ । एमाले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख सापकोटाले एमसीसी टेबल गर्नुपरेमा आत्महत्या गर्छु भनेको विवरण समावेश गरिएको थियो ।

न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सम्माननीय सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुष्प्रचार खेदजनक छ । उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।’

विज्ञप्तिमा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न अमर्यादित तथा अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गरिएको छ ।
एमालेले सभामुख सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै भदौको तेस्रो सातादेखि संसद्मा नाराबाजी गर्दै आएको छ । सभामुखले सापकोटाले भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको विषयमा संसद्मा छलफल गर्न नमिल्ने बताउँदै आउनुभएको छ ।