काठमाडौं, (नेस) ।
प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा केन्द्रीय गठबन्धन नगर्ने भएको छ । आवश्यकताअनुसार कुनै–कुनै स्थानीय तहमा पार्टी स्थानीय तहको निर्णयबमोजिम बाहेक गठबन्धन नगरी एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेको कांग्रेसले जनाएको छ ।
सत्ताघटक दलहरुमध्ये नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी केन्द्रबाट नै गठबन्धन गरी स्थानीय तहहरु भागवण्डा गरी निर्वाचनमा जानुपर्ने रणनीति बनाइरहेका बेला कांग्रेस उपसभापति धनराज गुरुङले यसलाई सीधै अस्वीकार हुने बताउनुभएको छ ।
नेपाली कांग्रेस आफ्नो नीति कार्यक्रमसहित दलीय घोषणापत्र लिएर एक्लै निर्वाचनमा जाने बताउँदै उपसभापति गुरुङ भन्नुहुन्छ– ‘कथाले मागेमा अपवादका रूपमा कुनै–कुनै ठाउँमा बाहेक गठबन्धन हुँदैन ।’ केही समय अघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनबाट कांग्रेसलाई फाइदा भएको भन्दै आउँदो आम निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्ने धारणा राख्नुभएको थियो । निर्वाचनमा वैचारिक, नीतिगत र सैद्धान्तिक रूपमा दल लड्ने भएपछि गठबन्धनको आवश्यकता नभएको भन्दै उपसभापति गुरुङ भन्नुहुन्छ– ‘अन्य दलसँग गठबन्धन गरेर निर्वाचनमा जाने भए निर्वाचन आयोगमा छुट्टाछुट्टै दल दर्ता गर्नुको औचित्य नै रहेन ।’
केन्द्रीय सदस्य डा. डिला संगौला पनि स्थानीय निर्वाचनमा कांग्रेसले केन्द्रीय गठबन्धन नगर्ने भन्दै आवश्यकताअनुसार कुनै–कुनै स्थानीय तहमा पार्टी स्थानीय तहको निर्णयबमोजिम मात्र गठबन्धन हुन सक्ने बताउनुहुन्छ । कांग्रेस संसदीय दलको सचेतकसमेत रहेकी नेतृ पुष्पा भुसाल पनि निर्वाचनमा गठबन्धन आवश्यक छ कि छैन भन्ने बारेमा पार्टीमा छलफल र निर्णय हुन बाँकी रहे पनि गठबन्धनको सम्भावना नरहेको बताउनुहुन्छ ।
अहिलेको सत्ता गठबन्धनअनुहार हेरेर नभई संविधानको पक्षमा लड्दा आफैं बन्न पुगेको धारणा राख्दै कांग्रेस नेताहरुले स्थानीय निर्वाचनमा मुख्य प्रतिस्पर्धी एमाले हुने बताएको छ । मुख्य रूपमा आउँदो निर्वाचनमा कांग्रेस एमालेबीच नै प्रतिस्पर्धा हुने भन्दै उनीहरुले स्थानीय तह निर्वाचनको सवालमा अन्य दलसँगको गठबन्ध गर्ने नीति रणनीति बनाउने जिम्मा पार्टी स्थानीय तहलाई नै दिनुपर्ने बताएका छन् ।











प्रतिक्रिया