एमसीसीको पाठ



अन्ततः लामो रस्साकस्सीपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संँगको सम्झौता व्याख्यात्मक टिप्पणीसहित संघीय संसद्को प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । यसले सत्ता गठबन्धनमा देखिएको तत्कालको संकट टरेको छ । तर राजनीतिक दलका नेताहरु वर्षौंवर्षसम्म एमसीसीको विषयलाई राष्ट्रिय हितदेखि भूराजनीतिक मामिलामा जोड्दै चरम राजनीति गर्दै जनतामा भ्रम फैलाइरहे । तर अब यो सब पटाक्षेप भएको छ । यसबाट एमसीसी सम्झौता विकासे सहायताभन्दा बढी राजनीतिक कोपभाजनमा फसेको बिहानीको घामजस्तै छर्लङ्ग भएको छ । राजनीतिक दलका नेताहरुले समर्थन र विरोधबीच एमसीसी सम्झौता विकासका निम्ति आएको अनुदानभन्दा पनि अमेरिकी रणनीतिक पाशोका रूपमा व्याख्या गर्दै कार्यकर्तालाई सम्झौताको विरोध गर्न लगाए । अनि एमसीसी मुख्यालयलाई संसदीय अनुमोदन गर्न समय माग्दै मर्यादा मिचेर पत्र पठाए । त्यसपछि भने दलका शीर्षस्थ नेताहरू नै यो पाशोमा फसिसकेका थिए । अन्ततः एमसीसी पास भएसँगै राजनीतिक दलको द्वैध चरित्र मुख्य आलोचनाको विषय बनेको छ ।

एमसीसी मुलुकको भूराजनीतिक संवेदनशीलतासँंग जोडिएको महत्वपूर्ण विषय हो । अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएको महत्वपूर्ण विषयमा राजनीतिक नेतृत्वको दोधारे चरित्र देखिनु ज्यादै दुर्भाग्यपूर्ण हो । देशलाई आवश्यक पूर्वाधारका लागि अनुदान पनि माग्ने र जनतामा भने त्यो राष्ट्रघाती छ भन्दै नेताहरू आफू पानी माथिको ओभानो बन्ने । उनीहरूले वास्तवमा जनतालाई समेत गुमराहमा राखेर आफ्नो राजनीतिको रोटी सेक्न जुन कर्म गरेका छन्, त्यो निकै आलोचनाको विषय हो । सत्तामा रहेकाहरूले सत्ता जोगाउने हतियारका रूपमा एमसीसीलाई प्रयोग गर्नु र प्रतिपक्षले पनि सत्ताको गठजोडलाई भत्काउने तुरूपका रूपमा प्रयोग गर्नु उत्तिकै कमजोर राजनीति हो । एमसीसीका विषयमा सर्वसाधारणलाई विभाजित बनाउन पनि राजनीतिक दलका नेताहरुको द्वैध चरित्रले निकै ठूलो काम गर्‍यो । सत्तामा पुग्ने भर्‍याङ बनाउन कुनै पनि मुद्दालाई गिजोल्नु वास्तवमा बेइमान कार्य हो । जो यसलाई पारित गर्नुपर्छ भन्ने पक्षमा रहे तिनले पनि जिब्रो नचपाई बोल्नसकेनन् । जनतालाई राम्रोसँग बुझाउनुपर्छ भन्ने दायित्व उनीहरूले सम्झिएनन् ।

वास्तवमा नेता भनेको भीडको पछि लाग्ने होइन, जनतालाई डोर्‍याउने क्षमताको हुनुपर्छ, जुन हाम्रा नेताहरुमा देखिएन । राजनीतिक दलका नेताहरुको कमजोर चरित्र पनि यसले देखाइदिएको छ । त्यसैले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्नु भनेर गौरव गर्नु वा एमसीसी पारित भएकोमा खुशी मनाउने कुनै पनि हिसाबले आवश्यक छैन । वास्तवमा एमसीसीले फेरि एकचोटि राजनीतिक दलको रबैया, कमजोर चरित्रलाई राम्ररी उजागर गरेको छ । यस चरित्रले एमसीसी देश र जनताको लागि आवश्यक भनेअनुसार सही रुपमा कार्यान्वयन हुनेमा शंका गर्न सकिने ठाउँ दिएको छ । अर्कोतर्फ यसले नेपालको कूटनीति कतिसम्म कमजोर भइसक्यो भन्ने उदाहरण पनि दिएको छ । यसले अन्तर्राष्ट्रिय स्तरमै मुलुकको छवि कमजोर बनाएको छ । कमजोर परराष्ट्र नीति र कमजोर कूटनीतिकै कारण यस मुद्दाले नेपालको अन्तर्राष्ट्रिय छविमै प्रश्न उठाउने विषय पनि बन्यो । यसबाट पाठ नसिक्ने हो भने यस्तै प्रवृत्तिले आगामी दिनमा अझ बढी जटिलता थपिदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्