जंगमलाई एक लाखको पुरस्कार



हेटौंडा, (नेस)।

भीमविराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ। आइबार हेटौंडामा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै पुरस्कारबारे जानकारी गराएको हो।

पुरस्कार हेटौंडाका व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा स्थापना गरेका हुन्। आगामी फागुन २८ गते शनिबार विशेष समारोहबीच संगीतकार जंगमलाई नगद १ लाखसहित उक्त पुरस्कार प्रदान गरिने छ।

संगीतकार जंगमले हालसम्म चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा स्वर दिएका छन्। संगीत साधक जंगमले किन किन तिम्रो तस्वीर, गाँजलु ती ठूला–ठूला आँखा, एउटा मान्छेको मायाले कति, सावनको झरी बनीजस्ता कालजयी गीतमा संगीत भरेका छन्।

नेपाली संगीतलाई देशदेखि विदेशसम्म चिनाएर सांगीतिक दूतको काम गर्दै आएका प्रा. जंगमले गीत गाएर तथा गीतमा संगीत भरेर त योगदान पुर्याएकै छन् नै, स्कुल र कलेजका विभिन्न तहका कक्षाका लागि संगीतको विषयलाई पाठ्यक्रमको रूपसमेत दिएर यस क्षेत्रलाई अर्को ठूलो गुनसमेत लगाइरहेका छन्।

२०६४ सालमा संगीतकार अम्बर गुरुङलाई पुरस्कार प्रदान गरी शुरू गरिएको पुरस्कार गत वर्ष नेपालीभाषी भारत दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो। उक्त पुरस्कारसँगै अन्य १० पुरस्कार पनि प्रतिष्ठानको व्यवस्थापनमा प्रदान गरिने प्रतिष्ठान अध्यक्ष ह्यग्रिव आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्