मलाई निकै दुःख लागेको छ : अनिल



ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लब (सीवाईसी) यस सिजनको ‘ए’ डिभिजन लिगमा रेलिगेसन भएका दुई टिम हुन् । दुवै टिममा राष्ट्रिय टिमका पूर्वकप्तान रहेका छन् । बीबीसीबाट अनिल गुरुङ र सीवाईसीबाट विराज महर्जनले खेलेका हुन् । यसमध्ये ललितपुरको मानभवनमा रहेको बीबीसी अनिलको डेब्यु गरेको टिमसमेत हो । अनिलले बीबीसीबाट २०६१ सालदेखि ‘ए’ डिभिजन लिगमा खेल्न शुरु गरेका हुन् । त्यसपछि, बीचमा बीबीसी छाडेर मनाङ, थ्रीस्टार र इन्डियन लिग हुँदै करिब १५ वर्षपछि उनी बीबीसीमा फेरि फर्के । बीबीसीबाटै फुटबल करियर समाप्त गर्ने सोचमा रहेका अनिलले टिम रेलिगेसन हुनु दुःखद विषय भएको बताए । नेपाल समाचारपत्रका सम्वाददाता फिरोज राजोपाध्यायले अनिलसँग लिगबारे गरेको छोटो कुराकानी ।

टिम रेलिगेसन भयो, के कारणले होला ?
तयारी पनि राम्ररी गरेको थियो । लिग हुन डेढ महिनाअघिदेखि तयारी शुरु गरेको थियो । टिमले यस्तो तयारी कहिल्यै गरेको थिएन । यति गर्दा पनि रेलिगेसन हुनुपर्यो । खासमा भन्नु पर्दा ‘ए’ डिभिजन लिगको अनुभव नभएका खेलाडी हुनाले नै फरक परेको जस्तो लाग्यो ।

यसपटक तपाईंले धेरै खेल नखेलेर हो कि ?
त्यो पनि हुन सक्छ, चोटको कारण मैले धेरै खेल खेल्न सकेन । मैले फुलटाइम खेलेको भनेको ३ खेल हो । अर्को टिममा नेतृत्व गर्नेको पनि कमी भयो । मैले पनि टिमलाई रेलिगेसनबाट बचाउन सकिनँ । मलाई निकै दुःख लागेको छ ।

टिम कतानेर चुक्यो त ?
पहिलो खेलमा एपीएफलाई हराउँदा हामीले राम्रै जाने सोच्यौं तर, सोचे जस्तो केही पनि भएन । आर्मीविरुद्धको खेलसम्म ठीक थियो, त्यसपछि राम्रो भएन । राम्रो हुन्छ कि नराम्रो हुन्छ भनेर हेर्दाहेर्दै टिम रेलिगेसन नै भयो ।

तपाईंलाई यसपालिको लिग कस्तो लाग्यो ?
लिगको फिल नै आएन, धेरै नखेलेर होला कि लिगमा चार्म राम्रो देखिएन । लिग पनि चाँडै सकिएको जस्तो लाग्यो ।

तपाईंको टिम रेलिगेसन भएर त्यस्तो लागेको हो कि ?
होइन, एउटै मैदानमा खेलाइरहँदा पनि त्यस्तो हुन सक्छ । विभिन्न मैदानमा खेलाउन पाएमा लिगको रौनक अर्को हुन्छ । तर, मच्छिन्द्र र मनाङबीचको खेलमा दर्शक देख्दा भने मलाई धेरै खुसी लाग्यो । रंगशालामा बाक्लै दर्शक थिए त्यो खेलमा । वास्तवमा लिगभरि यस्तै हुनुपर्छ ।

तपाईंले अब खेललाई निरन्तरता दिनुहुन्छ ?
खेललाई निरन्तरता दिनुभन्दा पनि मैले अहिले विश्राम लिनुपर्छ । धेरै खेल्नु पनि शरीरलाई हानिकारक हुन्छ । मैले २०/२१ वर्षदेखि खेल्न शुरु गरेको हु । मैले पहिल्यै ३५ वर्षसम्म खेल्छु भन्ने योजना पनि बनाएको थिएँ । अहिले म ३५ वर्षमा पनि लागे, मेरो टार्गेटमा पुगिसकें ।

संन्यास लिने विचारमा हुनुहुन्छ कि ?
मैले यदि संन्यास लिने हो भने खबर गरेरै लिनेछु । पहिलो त शरीरलाई बचाउनुपर्छ, यो उमेरमा घाइते हुनुपर्यो भने गाह्रो हुन्छ । जो कोही खेलाडीको जीवनमा उतारचढाव आएकै हुन्छ । अहिले म एनएसएलमा व्यस्त छु ।

प्रतिक्रिया दिनुहोस्