आर्मी र टाइम्स फाइनलमा



काठमाडौं ।

नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल एकेडेमीलाई ८२–७३ ले पराजित गर्यो । आर्मीका रोविन खत्रीले १७ अंक जोडे । रोयलका निकेश मगरले २५ स्कोर गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

शुरुका तीन क्वाटरमा आर्मीले २१–१८, २४–१३ र १९–१६ को अग्रता लिदै जितको आधार खडा गरेको थियो । अन्तिम तथा चौथो क्वार्टरमा भने आर्मी १८–२६ ले पछि पर्यो । हारसँगै रोयल दोहोरो फाइनल खेल्नबाट चुक्यो । महिलाको राउन्ड रोविन लिगमा भने रोयल विजेता बन्दै फाइनल पुगिसकेको छ । रोयलले नेपाल प्रहरीसँग उपाधि भिडन्त पक्का गरेको हो ।

अर्को सेमिफाइनलमा टाइम्सले गोल्डेनगेटलाई ८४–६७ ले हरायो । टाइम्सका विजय बुर्जाले २५ अंक बटुले । चौथो क्वाटर २०–२० को बराबरीमा टुंगियो भने बाँकीमा टाइम्सले अग्रता लियो । टाइम्सले पहिलोमा २३–१४, दोश्रोमा २३–१९ र तेश्रोमा १८–१४ को अग्रता बनायो ।

महिलातर्फ राउन्ड रोविन लिगको अन्तिम खेलमा रुपन्देहीले कीर्तिपुरलाई ४५–४१ ले पन्छायो । रुपन्देहीकी दीपिका गुरुङले २२ स्कोर गरिन् । कीर्तिपुरका लागि प्रजिता कार्कीले १५ अंक जोडिन् । पाँच टिम सहभागी महिलामा रुपन्देही चौथो भयो । पराजित कीर्तिपुर पुछारमा रह्यो । ललितपुर हाइले तेश्रो स्थानमा स्पर्धा टुंगायो । नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्