शारदा र स्टेपिङ विजयी



धनगढी ।

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत आज भएका दुई खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन् । जितसँगै शारदाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । सैनिक समूह चरणका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । स्टेपिङको पनि यो सान्त्वना जित हो भने सत्यवती सेमिफाइनल प्रवेश गरिसकेको छ ।

पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १ सय रनको सानदार जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । टिमका खडक बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान शारदाका बलर सामु टिक्न सकेनन् । सैनिकलाई सस्तैमा समेट्न शारदाका विकास सुनारले ५ विकेट लिए । अर्जुन सिंह साउदले ३, मिलन बोहराले २ विकेट लिए ।

यसअघि, शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउदले २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४५ रनको पारी खेले । उसका सुनील चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे ।

सैनिकका खडक बोहराले ३ र आकाश चन्दले २ विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ विकास सुनार घोषित भए । गेम चेन्जर अवार्ड अर्जुन सिंह साउदे पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउद र सुनील चन्दले पाए । दोस्रो खेलमा स्टेपिङ स्टोनले सत्यवतीमाथि ३० रनको सान्त्वना जित निकाल्न सफल भयो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । १ सय ५८ रनको विजयी लक्ष पछ्याएको सत्यवतीले १८.४ मा १ सय २७ रन मात्रै बनाउन सक्यो । टिमका लागि आदिल अन्सारीले २५, सन्तोष कार्कीले २४, खगेन्द्र जोशीले २२, सुजन गौतमले १६, नीरज भट्टले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । बलिङतर्फ स्टेपिङका दिनेश ओडले ४, कपिल मिश्र, भूपेश जोशी, वीरेन्द्र चन्दले समान २/२ विकेट लिए ।

यसअघि, स्टेपिङका लागि अभिषेक कुवरले ४१ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रनको उत्कृष्ट पारी खेले । दिनेश ओडले २९, वीरेन्द्र चन्दले २१, आर्यान दानपालीले १९ र विशाल विष्टले ११ रन बनाए । बलिङ तर्फ सत्यवतीका नीरज भट्ट र सन्दीप खत्रीले समान २/२ विकेट लिए ।

खेलको ‘प्लेयर अफ दी म्याच’ अभिषेक कुँवर भए । गेम चेन्जर अवार्ड दिनेश वडले पाउँदा सर्वाधिक छक्काको अवार्ड पनि अभिषेकले नै पाए । सत्यवती यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने स्टेपिङ उपाधि होडबाट बाहिरी सकेको टिम हो ।

समूह चरणको अन्तिम खेलमा भोलि बिहीबार बिहान ९:३० बजे काठ्माडौंको हिमालयन ह्वाइट हाउस स्कुल र होलिल्यान्ड स्कुल अत्तरिया प्रतिस्पर्धा गर्नेछन् । भोलिको खेल जितेको खण्डमा होलिल्यान्ड सेमिफाइनल प्रवेश गर्नेछ । हिमालयन ह्वाइट हाउस, सत्यवती र विद्याभूषण यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । एलपीएलको जारी संस्करणको उपाधि विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार पुरस्कार राशि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्