च्यासल अन्ततः ‘बी’ डिभिजनमा पुग्यो



काठमाडौं ।

रेलिगेसन जोनमा रहेर ‘बी’ डिभिजनमा झर्ने सम्भावना रहेको च्यासल युथ क्लब अन्ततः रेलिगेसन भएको छ । शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको पहिलो खेलमा रेलिगेसनबाट बच्न फ्रेन्डस् क्लब र च्यासल प्रतिस्पर्धामा उत्रेका थिए । ललितपुरका दुवै टिमलाई ‘ए’ डिभिजनमा रहिरहन जितकै आवश्यक थियो, यसमा फ्रेन्डस् बाजी मार्न सफल भयो । फ्रेन्डस्ले च्यासललाई २–१ ले हराएको थियो ।

फ्रेन्डस्को १२ खेलबाट १० अंक भएको छ र रेलिगेसन टार्न सक्ने सम्भावनामा रहेको छ । तर, टिम रेलिगेसनबाट उम्किन सक्ने वा नसक्ने आगामी जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबका आ–आफ्ना खेलको नतिजाले निष्कर्ष निकाल्नेछ । ११ खेल खेलेको जावलाखेलको १० अंक छ भने ब्रिगेड ब्वाइजको त्यति नै खेलबाट ७ अंक जोडेको छ ।

फ्रेन्डस्विरुद्ध हार व्यहोरेको च्यासलको १२ खेलबाट ६ अंक छ । अन्तिम खेलमा सातदोबाटो क्लबलाई हराए पनि च्यासल रेलिगेसन नै हुने भएकोले एक खेलअगावै च्यासल रेलिगेसनमा परेको हो । २०३७ सालमा स्थापित च्यासल २०७२ सालमा ‘ए’ डिभिजनमा उक्लिएको थियो । च्यासलको ‘ए’ डिभिजन यात्रा ६ वर्ष मात्रै रह्यो ।

च्यासलले खेलमा फर्कन कोशिस गरेको पनि थियो, तर सफल भएन । फ्रेन्डसका जमोल एन्थोनीले दुबै गोल गरेर च्यासललाई पहिलो हाफमै २–० ले पछि पारेका थिए । दोस्रो हाफमा च्यासलका लागि मौसा एबागानाले गोल गर्दै २–१ मा गोलअन्तर खुम्च्याएका थिए । यसपछि गोल हुन सकेन र च्यासलको ए डिभिजनको यात्रा समाप्त भयो । च्यासलको यो जारी लिगमा ८ खेलमा हार भयो भने एक खेलमा मात्रै जित प्राप्त भयो ।

प्रतिक्रिया दिनुहोस्