रहेनन् बलिउडका डिस्को किङ बप्पी लहरी



नौ दिनअघि मात्रै ख्यातिप्राप्त गायिका लता मंगेसकरलाई गुमाएको बलिउडले फेरि अर्का ख्यातिप्राप्त गायक तथा संगीतकार बप्पी लहरीलाई गुमाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मुम्बईको जुहुस्थित क्रिटिकेयर अस्पताल लगिएको उनको ६९ वर्षको उमेरमा मंगलबार अबेर राति अस्पतालमै निधन भएको हो।

केही महिना अघिदेखि अस्वस्थ रहेका बप्पी २९ दिन अस्पताल बसेर सोमबार मात्र घर फर्किएका थिए। निद्रासम्बन्धी रोग अब्स्ट्रक्टिब स्लिप एप्निया तथा छातीमा बारम्बार हुने संक्रमणसँग जुध्दै आएका बप्पीको घर फर्किएको भोलिपल्टै स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई पुनः अस्पताल पुर्याएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गत वर्ष कोभिड–१९ लाई जितेका बप्पीमा संक्रमणपछि स्वास्थ्यमा अन्य समस्या थपिन थालेको थियो। बेला–बेला उपचारका लागि अस्पताल भर्ना भइरहने उनको स्वास्थ्यमा प्रत्येकपटक सुधार भए पनि यसपटक उनले स्वास्थ समस्यालाई जित्न सकेनन्। उनले निधन हुनुभन्दा तीन दिनअघि ओल्ड इज अलवेज गोल्ड लेख्दै पुरानो एक फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्ना पुराना दिन स्मरण गरेका थिए।

अमेरिकामा रहेका उनका छोरा फर्किएपछि उनको अन्तिम संस्कार आज बिहीबार हुने समाचारमा जनाइएको छ। उनको निधनमा दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् भने कयौं कलाकर्मी बप्पीलाई अन्तिम श्रद्धाञ्जलि दिन उनको निवास पुगेका थिए। साथै, उनको निधनमा कयौं शुभ चिन्तकले दुःख व्यक्त गरिरहेका छन्।

सानैदेखि गीत संगीतप्रति मोह राख्ने बप्पी खेल्ने कुद्ने तीन वर्षकै उमेरमा वाद्यवादनप्रति ध्यान दिन्थे भने त्यति बेलादेखि नै तबला बजाउन थालेका थिए। सन् १९५२ मा पश्चिम बंगालमा जन्मिएका बप्पीको माता पिता दुवै बंगाली गायक गायिका तथा संगीतकार थिए। किशोर अवस्थामा नै संगीत क्षेत्रको बाटो तय गरेका उनले सन् १९७२ मा बंगाली फिल्म दादुमार्फत फिल्मी गीतमा संगीत भर्न थालेका थिए भने सन् १९७३ मा अँएको फिल्म नन्हा शिकारीमार्फत हिन्दी फिल्मका गीतमा समेत संगीत भर्न शुरू गरेका थिए।

मिथुन चक्रवर्तीको सुपरहिट फिल्म डिस्को डान्सरको आई एम ए डिस्को डान्सर बोलको गीतले उनलाई घर–घरमा परिचित गराएको थियो। रोमान्सले भरिएको गीत सुन्ने जमानामा बप्पीले उक्त गीतमार्फत बलिउड फिल्ममा डान्सिङ गीतलाई भित्र्याएर फरक पहिचान बनाएका थिए। बप्पी दाको नामले परिचित उनी उक्त गीतले लोकप्रियता कमाएपछि डिस्को किङको नामले चिनिन थालेका थिए।

सन् १९७५ मा प्रदर्शन भएको फिल्म जख्मीबाट उनले अझ बढी नाम, दाम तथा पहिचान कमाएका थिए। ८० र ९० को दशकमा डिस्को संगीतमार्फत युवाहरूलाई झुमाउँदै भारतमा डिस्को संगीतलाई लोकप्रिय बनाएका बप्पीले उक्त समय डान्स संगीतमा एकक्ष्ँत्र राज गरेका थिए। करिब नौ हजार गीतका लागि संगीत सिर्जना गरेका उनका याद आ रहा हे तेरा प्यार, तमा तमा लोगे, दिवाना दिवाना कर, आना जाना, चलते चलतेलगायतका दर्जनौं गीत सुपुर डुपर हिट छन्। उनको निधनपछि भारतीय डिस्को संगीतको एक युगको अन्त्य भएको छ।

सुनका सौखिन
बप्पी संगीतका साथै सुनका गहना पहिरिने मामलाका लागि चर्चित थिए। गलामा तीन चार ओटा सुनका सिक्री, हातका औँलाभरि सुनकै औँठी, नाडीमा सुनका ब्रासलेट पहिरिने गहनाका सौखिन बप्पीले पहिलोपटक सन् १९७४ मा आमाबाट र सन् १९९७ मा पत्नीबाट सुनको सिक्री उपहार पाएका थिए।

आमा र पत्नीबाट सुनको सिक्री उपहार पाएपछि उनको सुनप्रतिको मोह र सुनका गहना उपहार पाउने तथा किन्ने सिलसिला शुरु भएको थियो। बप्पीले संगीत दिएको पहिलो फिल्म जख्मी सफल भएपछि उनलाई आमाले सुनको सिक्री उपहार दिएकी थिइन्।

त्यसबेलादेखि नै आफूलाई सुन भाग्यशाली भएको महशुस गरी बप्पीले सुनका गरगहना पहिरिन थालेका थिए। हलिउड गायक एल्भिस प्रेसलेबाट प्रभावित बप्पीले उनैबाट प्रभावित भई सुनका गहनालाई सौख बनाएका थिए। उनको यो स्टाइलप्रति विश्वचर्चित गायक तथा डान्सर माइकल ज्याक्सनसमेत उनका फ्यान बनेका थिए।

बलिउड लाइफको रिपोर्टअनुसार २०१४ मै उनीसँग सात सय ५४ ग्राम सुन र साँढे चार केजीभन्दा बढी चाँदीका गहना थिए। त्यसैगरी, चार लाखभन्दा बढीको हीरा थियो। बप्पीलाई मन पर्ने भएकाले उनको श्रीमती चित्राणीले पनि बप्पीका लागि सुनका गहना उपहार दिने गरेकी थिइन्।

चित्रान्सीसँग बप्पीसँग भन्दा बढी सुनका गहना थिए। उनीसँग नौ सय ६७ ग्राम सुन तथा ८.९ केजी चाँदी थिए। बप्पीले २०१४ मा लोकसभाको चुनाव लड्ने समयमा सम्पती विवरण सार्वजनिक गर्ने क्रममा आप्mनो र पत्नीको गहनाका बारेमा जानकारी गराएका थिए।

बप्पीले प्रायः धनतेरसका दिन सुनका गहना किन्ने गरेका थिए। सन् २०२१ को धनतेरसमा भने सुनको चिया कप सेट किनेका थिए। उनले आफ्नो सामाजिक सञ्जालको अन्तिम स्ट्याटसमा पनि सुनको तारिफ गर्दै ओल्ड इज गोल्ड लेखेका थिए।

 

(एजेन्सीको सहयोगमा)

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्