चौतारीद्वारा विभिन्न विधाका पुरस्कार घोषणा



काठमाडौं (नेस) ।

प्रेस चौतारी नेपालले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाको पुरस्कार घोषणा गरेको छ । संस्थाको २४ औँ स्थापना दिवसका अवसरमा शनिबार उक्त पुरस्कार दिने घोषणा गरेको छ ।

संगठनका पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

२०७७ को हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार संस्थाका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार, कृष्णविनोद लम्साल (सुनसरी), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार, केपी गौतम (गोरखापत्र), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार, सागर पण्डित (सम्पादक, राजधानी दैनिक) र प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कार अब्दुल्लाह मियाँ (काठमाडौं)लाई दिने घोषणा गरेको छ ।

त्यस्तै, २०७८ हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार संस्थाका पूर्व अध्यक्ष गगन विष्ट, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अनुप तिवारी (पर्सा), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार, हिरा परियार (रूकुम पश्चिम), प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कारशिवराज भट्ट (कैलाली) र चन्द्र न्यौपाने –शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की) लाई दिने घेषणा गरिएको छ ।
संस्थाले स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिनुभएको छ ।

नेता पोखरेलले संविधान र कानुनी व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । उहाँले वर्तमान सरकारले संविधान र कानुन उल्लंघन गर्ने धृष्टता गरिरहेको आरोपसमेत लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्