काठमाडौं ।
लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित बनेको छ।
पृथ्वीराजमार्ग र बीपी राजमार्गसहित १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरीस्थित परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिकाका पिनथली र गिम्दीबेँसीमा खहरेखोलाको लेदोसहितको बाढी सडकमा पस्दा बीपी राजमार्गमा पनि यातायात ठप्प भएको छ।
त्यसैगरी, सुर्खेतको बराहतालस्थित कर्णाली राजमार्ग र खोटाङ खण्डको मध्यपहाडी राजमार्ग अवरुद्ध भएका छन्। ललितपुरको बागमती खोला करिडोर तथा कान्तिलोकपथमा समेत पानीको बहाव बढेपछि आवागमन बन्द भएको प्रहरीले जनाएको छ।
यस्तै, गुल्मी र पाल्पा खण्डमा पहिरो खस्दा कालीगण्डकी करिडोर तथा मुगुको ताल्चास्थित नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएका छन्।
विभिन्न स्थानमा पहिरो खस्ने र खोलामा पानीको बहाव बढ्ने क्रम जारी रहेकाले सडक यातायात प्रभावित बनेको छ।











प्रतिक्रिया