काठमाडौं ।
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि बाँधका ढोका खोल्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा १२ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै तोकिएको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह शनिबार साँझसम्म १ हजार ५२९ मिटर पुग्ने अनुमान गरिएको छ। जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ।
जलाधार क्षेत्रमा भारी वर्षा भए बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने प्रशासनले जनाएको छ। ढोका खोलिए सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम छ।
प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।











प्रतिक्रिया