सिरहामा नक्कली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जना पक्राउ


काठमाडौं । 

सिरहा प्रहरीले नक्कली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई प्रहरीले चेकजाँच गरेको थियो।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० दरका ३ थान र १ हजार दरका २४ थान गरी कुल २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोटजस्तो देखिने रकम बरामद भएको हो।

बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन्।