कहाँ छन् बलिउड अभिनेता राजकिरण ?



न्युज अफ नेपाल, काठमाडौं ।

बलिउड फिल्म ‘बुलन्दी’, ‘कर्ज’, ‘घर हो तो ऐसा’, ‘तेरी मेहरनबानियाँ’लगायत सुपरहिट फिल्ममा अभिनय गरेका अभिनेता राजकिरण वर्षौदेखि गुमनाम छन् । राजकिरण ८० को दशकका प्रायः हरेक फिल्मको हिस्सा हुन्थे । एक समय सूर्यको किरण जस्तै चम्किएका उनको जिन्दगीमा कहिलेबाट अध्यारोले छोया कसैलाई थाहा छैन ।

राजकिरण जबसम्म फिल्ममा थिए, उनलाई सबैले स्वागत गर्थे । तर, जब उनले फिल्मबाट सम्बन्ध तोडे, त्यही बेला फिल्म उद्योगका मानिसले राजलाई आफ्नो जीवनबाटै निकाले । राजलाई जुन समयमा आफ्नो परिवारको बढी आवश्यकता थियो, त्यो समयमा उनीसँग कोही थिएनन् । अर्थात उनको परिवारले नै उनलाई छोडिसकेका थिए ।

राजले आफ्नो करियरमा एक सयभन्दा बढी फिल्ममा काम गरे । उनले सहायक र मुख्य अभिनेताका रुपमा ती फिल्ममा आफ्नो कौशल देखाए । उनी निकटका अनुसार अहिले उनी ‘पागल’ भइसकेका छन् । उनको पुरा नाम राजकिरण मेहतानी हो । भारतमा उनको फ्यानले उनलाई कैयौं वर्षदेखि ‘बेपत्ता’का रुपमा सम्झिएका छन् । किनकी उनको बारेमा धेरै जानकारी कोहीसँग पनि छैन ।

राजकिरणलाई आफ्नो करियरको उतारचढावको बेला ‘डिप्रेसन’ भएको थियो । यही समयमा उनको परिवारले उनलाई वास्ता गरेनन् । त्यही समयदेखि उनले आफ्नो मानसिक सन्तुलन गुमाए । वर्षौअघि दीप्ति नवलले उनलाई अमेरिकामा ट्याक्सी चलाउँदै गरेको अवस्थामा भेटेका थिए । सन् २०११ मा ऋषि कपुरले राजकिरण अमेरिकाको पागलखाना रहेको पत्ता लगाएका थिए ।

राजकिरणकी पत्नीले पनि पति कैयौं वर्षदेखि गुमनाम रहेकाले उनको खोजी भइरहेको बताएकी थिइन् । राजकिरण पछिल्लोपटक शेखर सुमनको सिरियल ‘रिपोर्टर १९९४’मा देखिएका थिए ।

कतिपयले फिल्म नपाएको कारण उनी डिप्रेसनमा गएको बताइरहेका छन् भने कतिपयले उनको परिवारले राजकिरणको सबै सम्पत्ति हडपेको दाबी गरिरहेका छन् । तर सत्य के हो अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्