चुनावअघि परीक्षा



सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचन हुँदा पठन–पाठनमा असर पर्ने भएकोले त्यसअघि नै स्थगित भएका परीक्षा सक्नु जरुरी भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिएकै समयमा परीक्षा गर्न विश्वविद्यालयलाई आग्रह गरेको छ । विद्यालय तहको परीक्षा गर्न राष्ट्रिय परीक्षा बोर्डलाई पनि निर्देशन दिइसकिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण शिक्षण संस्था बन्द भएपछि भौतिक रुपमा हुने पठन–पाठन र सबै परीक्षा स्थगित छन् । यद्यपि त्रिभुवन विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले स्थगित भएका परीक्षा गर्न सूचना जारी गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि विभिन्न संकायका परीक्षाहरू सुरु गर्ने जनाइसकेको छ । पूर्वाञ्चल, पोखरा र काठमाडौं विश्वविद्यालयले परीक्षाको तालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले हिजो बिहीबार सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे बिएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुने जनाएको छ । साथै, वार्षिक परीक्षा प्रणालीअनुसारको तीन वर्षे एलएलबी नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सिसिएमसीको निर्देशनपछि त्रिविले माघ मसान्तदेखि परीक्षा र भौतिक रुपमा पठन–पाठन तथा परीक्षाका सम्पूर्ण कार्यक्रम स्थगित गरेको थियो । त्रिविले माघ मसान्तसम्म परीक्षा तथा प्रत्यक्ष कक्षा सञ्चालन गरिरहेको छैन । माघ ११ देखि अनलाइनबाट कक्षा सञ्चालन गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख दोस्रो साता र कक्षा १२ को जेठमा गर्ने निर्णय गरिसकेको छ । त्यसको लागि आउँदो हप्ता बोर्डको बैठकले परीक्षाको तालिका अनुमोदन गर्नेछ । स्थानीय तहले चैत महिनाभित्र कक्षा ८ को परीक्षा लिने तयारी थालेको छ । शिक्षा मन्त्रालयले पनि निर्वाचन अघिनै कक्षा ८, एसईई र १२ को परीक्षा गर्न सबैलाई आग्रह गरेको छ । यी परीक्षाहरु पूर्व निर्धारित कार्यक्रमअनुसार जेठभित्र सम्पन्न गर्नुपर्ने अवस्था छ । राष्ट्रिय परीक्षा बोर्डले केही दिन भौतिक उपस्थितिबाट कक्षा सञ्चालन भएपछि मात्रै परीक्षा लिन सजिलो हुने तर्क राखेको छ । त्यसको लागि फागुन १ गतेबाट भौतिक उपस्थितिमा विद्याल खोल्न दबाब दिएको छ ।

कोरोना संक्रमितको संख्या घट्दै गएको कारण सरकारले फागुनको दोस्रो साताबाट विद्यालय खोल्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न आग्रह गरी पत्र पठाएको छ । सोही आधारमा मन्त्रिपरिषद्को बैठकले आयोगले तोकेकै मितिमा निर्वाचन भए त्यस अघिनै परीक्षा सक्नु जरुरी छ । त्यसो नगरे परीक्षाको तालिका पर सर्ने र उच्च शिक्षा अध्ययन गर्न समस्या पर्नेछ । त्यसैले अन्य व्यवसाय सुचारु गरेजस्तै स्वाथ्य मापदण्ड पालना गरी भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्