डोटी ।
कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला उच्च अदालत दिपायल राजपुरले उल्टाइ दिएको छ । पीडित महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरजस्ती करणी मुद्दामा बझाङ जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको हो ।
२०७७ असार १५ गतेको जिल्ला अदालतको फैसलाअनुसार अनुसन्धानमा बुझ्दै जाँदा घरमा श्रीमती हुँदाहुँदै प्रलोभनमा पारी झुक्याई जबरजस्ती करणीसमेत गरेको भन्ने वस्तुनिष्ट प्रमाण र पुष्टि गर्न नसकेको भन्दै प्रतिवादीले सफाइ पाएका थिए । आइतबार उच्च अदालत दिपायलले सो फैसला उल्टाउँदै प्रतिवादी बोहरालाई १२ वर्ष कैद हुने ठहर गरेको छ । साथै पीडितलाई ५ लाख क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ ।
उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत्बहादुर थापाको संयुक्त इजलासले मुलुकी अपराध संहिता–२०७४ को दफा २१९ (३)(घ) बमोजिम १२ वर्ष कैद र सोही संहिताको दफा २२८ बमोजिम प्रतिवादीबाट पीडितलाई ५ लाख क्षतिपूर्ति भराउने गरी फैसला गरेको हो ।
यस्तै, अर्की पीडित महिलाको जाहेरीले नेपाल सरकार वादी रहेको एक मुद्दामा कैलाली जिल्ला अदालतले एक वर्ष पाँच महिना कैद र १५ हजार जरिवानाका साथै २५ हजार क्षतिपूर्ति हुने गरी गरेको फैसला पनि उच्च अदालत दिपायल राजपुरले उल्टाइ दिएको छ ।
सो मुद्दामा बीस वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ । आफ्नै सौतेनी बुबाले सात वर्षकी नाबालिकालाई घरमा कोही नभएका बेला बारम्बार जबरजस्ती करणी र हाडनाता करणी गर्ने गरेको भन्ने जाहेरीमा जिल्ला अदालत कैलालीले हाडनाता करणीमा दाबी नपुग्ने भन्दै जबरजस्ती करणीतर्फ मात्रै मुलुकी अपराध संहिता–२०७४ को दफा २२५(३) बमोजिम एक वर्ष पाँच महिना कैद फैसला सुनाएको थियो ।
उच्च अदालत दिपायल राजपुरका कायम मुकायम मुख्य न्यायाधीश कुँवर र न्यायाधीश थापाको संयुक्त इजलासबाट मुलुकी अपराध संहिता–२०७४ को दफा २१९(३)(क) बमोजिम बीस वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने गरी फैसला भएको उच्च अदालत दिपायल राजपुरले जनाएको छ ।











प्रतिक्रिया