कैंची



  • सागर फुँयाल

एक पातोमा के हुन्छ?
निरिह हुँन्छ गन्ती हुँदैन
रूप हुँदैन सार हुँदैन
आधार हुँदैन आकार हुँदैन
देखेका सपना साकार हँदैन ।

त्यही पातोमा अर्को पातो जोडिन्छ जसै
अनि बन्छ दुई धारे कैंची
पूर्णाआकार ग्रहण गरे सँगै
चम्किएका दुई तिलस्मी धारको
अभूतपूर्व गरी प्रयोगको
ज्ञान बाड्न थाल्छ संसारलाई
सिङ्गोलाई टुक्राउने कसरी हो भनि ।

अनाडीको हातमा कैंची परे
कपडा त काट्छ
काट्नु धर्म हो कैंचीको
बाहुला लामो, घाँटी कस्सिएको
अनि पेटसम्म पनि नछोपिने गरी
कमिज बनाइदिन्छ, बनाइदिन्छ जोकर ।

चलान जान्नेको हातमा परे
खलपात्र समेत नायक बन्छ
सुरूवाल तानी तानी हिँडनुपर्नेको पनि
काटकूट गरी चिटिक्क बनाइदिन्छ
अनि दुई हात फड्कारी फड्कारी
निस्फीक्री हिँड्छ ऊ।

जोशमा, रहरमा अनि लहडमा
कैंची चलाउने देखि सावधान
तिनीहरू नाप लिँदैनन्
अनाडिका पनि अनाडि हुन्छन् या बन्छन्
जोशमा काट्छन्, बेहोसीमा काट्छन्
लहडमा काट्छन, रहरमा काट्छन्।

किम्ती कपडा किन बिगारिस भनि
आफ्नो पीडा पोख्दा जिब्रो नै काटिदिन्छन
गल्ति औंल्याउँदा औंला नै काटिदिन्छ
हातमा कैंची हुनेहरूसंग सतर्क हुनुपर्छ ।

अग्लो बनाउन त सक्दैन कैंचीले मान्छेलाई
तर रहरै रहरमा होचो र पुडको बनाउन सक्छ
भाग्य रेखा काट्न सक्छ, हिँड्ने बाटो काट्न सक्छ।

त्यसैले, कैंची चलाउने देखि सावधान
कैंची बोक्नेहरूसंग त झन् सावधान
यसले कपडा मात्र होइन
तिमीलाई

तिम्रा सम्बन्धहरूलाई पनि टुक्रा टुक्रा पार्न सक्छ ।

कैंची आतंङ्कबाट आफू जोगिउँ
अरूलाई पनि जोगाऔं
कैंची साम्राज्यबाट आफू मुक्त हौँ
अरूलाई पनि मुक्त बनाऊँ
यहाँ कैंची बोक्नेहरूसँग विधाता पनि तर्सन्छन्।

प्रतिक्रिया दिनुहोस्