लखनउले किन्यो केएल राहुललाई



नयाँ दिल्ली, (एजेन्सी) ।

विश्व चर्चित फ्रान्चाइजी टी–२० लिगमध्ये एक इन्डियन प्रिमियर लिगको नयाँ टिम लखनउले ३ खेलाडी किनेको छ । ईएसपीएन क्रिकइन्फो अनुसार केएल राहुललाई १५ करोड भारुमा किनिएको छ । यस्तै, अलराउन्डर मार्कस स्टोइनिसलाई भारु ११ करोड तिर्दा रवि विश्नोईको लागि ४ करोड मात्र खर्च गरेको छ । केएल राहुललाई टिमको कप्तानी दिने पनि जनाएको छ । यसअघिका आईपीएल प्रतियोगितामा उनी पन्जाब किंग्सका कप्तानी थिए ।

आईपीएलमा राहुलको पछिल्लो प्रदर्शन निकै राम्रो थियो । यसको बाबजुद उनले कप्तानीको रूपमा पन्जाब किंग्सलाई उपाधि दिलाउन भने सकेका थिएनन् । उनले पछिल्ला ४ संस्करणमा ५ सयभन्दा बढी रन जोडेका छन् । अस्ट्रेलियाका स्टोइनिसले पनि दिल्ली क्यापिटल्सका लागि अघिल्ला तीन सिजनमा उत्कृष्ट प्रदर्शन गरे । आईपीएलमा उनले ५६ खेल खेलेर ९ सय १४ रन बनाएका छन् । उनको नाममा ३० विकेट पनि दर्ता भएको छ ।

यसैगरी, आईपीएलसँग जोडिएको अर्को नयाँ टिम अहमदाबादले पनि ३ खेलाडी किनेको छ । अहमदाबादले हार्दिक पान्ड्या, रशिद खान र शुभमन गिललाई किनेको हो । हार्दिक र रशिदलाई १५/१५ करोड भारु तिर्दा शुभमनको लागि ७ करोड भारु तिरेको थियो ।

यस सिजनको आईपीएलमा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसअघि, ८ टिमले प्रतियोगितामा खेलिरहेका थिए । आरपी सञ्जीव गोयन्का गु्रपले लखनउ टिमलाई ७ हजार ९० करोड भारुमा किनेको हो । यो ग्रुपले ५ वर्षपछि लिगमा पुनरागमन गरेको हो । यसअघि, गोयन्का ग्रुपले २०१६ र २०१७ मा राइजिङ पुणे सुपर जायन्ट टिम किनेको थियो । सीभीसी क्यापिटलले ५ हजार १ सय ६६ करोड भारुमा अहमदाबाद टिम किनेको थियो ।

प्रतिक्रिया दिनुहोस्