केभिटोभा अस्ट्रेलियन ओपनबाट बाहिरिइन्



मेलबर्न, (एजेन्सी) ।

चेक खेलाडी पेट्रा केभिटोभा मेलबर्नमा जारी अस्ट्रेलियन ओपनबाट बाहिरिएकी छन् । मंगलबार केभिटोभालाई रोमानियाकी खेलाडी सोरेना सिस्र्टियाले सोझो सेटमा हराएकी हुन् । पहिलो चरणमै हार्न पुगेकी केभिटोभा यसै प्रतियोगिताको गत संस्करणमा पनि सिस्र्टियासँग दोस्रो चरणमा हारेकी थिइन् ।

केभिटोभा २०२० यूएस ओपनदेखि ग्रान्डस्लामको तेस्रो चरणभन्दा माथि पुग्न सकेकी छैन । उनी मेलबर्नका दर्शकमाझ लोकप्रिय खेलाडीसमेत हुन् । तर, उनले खेलमा ३९ अनावश्य गल्ती गर्नु नै हारको कारण बन्यो । उनले बताइन्–यो हार निकै पीडादायक भएको छ । पूरै महिना स्वास्थ्य समस्या भएकोले पनि अभ्यास गर्न कठिन भएको थियो । यो सिजन लामो छ, राम्रो भएर जान आस गरेकी छु ।

यस्तै, यूएस ओपनमा रनरअप भएकी क्यानडाकी लेलाह फर्नान्डेजको पनि अस्ट्रेलियन ओपनबाट छुट्टी भएको छ । युवा खेलाडी फर्नान्डेजलाई वाइल्ड कार्ड प्राप्त अस्ट्रेलियाकी मेडिसन इंग्लिसले सीधा सेटमा हराएकी हुन् । बेलारुसकी एरिना साबालेन्काले पहिलो सेट गुमाएर पनि अस्ट्रेलियाली खेलाडी स्टोर्म सान्डर्सलाई हराइन् । यो उनको सिजनमा पहिलो जितसमेत हो ।

अन्य वोमेन्स सिंगल्सतर्फ २०१८ की रनरअप सिमोना हालेपले आफू लयमा रहेकी सावित गर्दैछिन् । रोमानियाकी हालेपले पोल्यान्डकी मेगडालेना फ्रेचलाई सीधा सेटमै पन्छाइन् । स्पेनकी गार्बिन मुगुरुजा, अस्ट्रेलियाकी भेटेरान खेलाडी साम स्टोसुर पनि दोस्रो चरणमा पुगे । मुगुरुजाले फ्रान्सकी उदीयमान खेलाडी क्लारा बुरेललाई र स्टोसुरले अमेरिकाकी रोबिन एन्डरसनलाई हराएका हुन् ।

२०१६ की विजेता एन्जेलिक केर्बर भने पहिलो चरणमै पराजित भइन् । जर्मन खेलाडी केर्बर लगातार दोस्रो वर्ष अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनी इस्टोनियाकी काइया कानेपीसँग हारेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्