बक्सिङको साधारणसभा रोक्न माग



काठमाडौं, (नेस) ।

नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले माघ १५ गतेका लागि तय भएको साधारणसभा रोक्न माग गरेका छन् । नेपाल बक्सिङ संघको नेतृत्व विगत लामो समयदेखि एकलौटी र स्वेच्छाचारी ढंगबाट चल्दै आएको तथा बहुसंख्यक पदाधिकारीको जानकारीविना माघ १५ गते साधरणसभा तय गरेकाले त्यसलाई रोक्न भट्टाचार्य र सुजखुले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा छुट्टाछुट्टै निवेदन दिएका हुन् ।

नेपाल बक्सिङ संघले माघ १५ मा ललितपुरको क्लासिक बेङ्क्वेटमा वार्षिक साधारणसभा आह्वान गरेको थियो । निवेदनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबाट कार्यसमितिको नेतृत्व गरेदेखि नै महासचिव र कोषाध्यक्ष पदको अवमूल्यन गर्दै बैठकको सूचना पनि जानकारी नगराई आफूनिकट व्यक्तिहरू बसेर एकलौटी निर्णयहरू गर्दै आएको उल्लेख गरिएको छ ।

गत भदौंमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग भएको बैठकमा संस्थापन पक्षले सबैलाई समेटेर सामूहिक निर्णय लिने सहमति विपरीत संस्थापन पक्ष अहिले पनि पेलेरै जाने मनस्थितिबाट प्रेरित भएको निवेदनमा उल्लेख गरिएको छ । उनीहरूले नेपाल बक्सिङ संघले जबरजस्ती विभिन्न जिल्ला संघ थपेको र थप गरिएका जिल्लालाई वैधानिकता साधारणसभाले दिने भए पनि विगत ६ वर्षदेखि साधारणसभा नै आयोजना गर्न नसकेको आरोप समेत लगाएका छन् ।

त्यस्तै, निवेदनमा नेपाल बक्सिङ संघको वर्तमान कार्यसमिति विधानसम्मत नरहेको र चार वर्षको कार्यकाल सकिएको संघमा विधान विपरीत सदस्यहरू मनोनित गरिएको उल्लेख गर्दै पहिले संघबाट राजीनामा दिएका व्यक्तिलाई पनि बहुमत पुर्याउनकै लागि पुनः सदस्य बनाएर राखिएको जिकिर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्