मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन शुरू



न्युज अफ नेपाल, काठमाडौं ।

मेगा बैंकको वित्तीय साझेदारीमा धरानको फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन शुरू गरिएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन शुरू गरिएको हो ।

निजी सार्वजनिक साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ । दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट दैनिक रुपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ । साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ ।

यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार, यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्दीकरण गरी सीएनजी ग्यास उत्पादन हुनेछ । जुन धरानमा रहेका तीन पाङ्ग्रे सवारी साधन (टेम्पो)मा प्रयोग गरिनेछ । धरानमा रहेका करिब ३ सय वटा टेम्पोहरुमा सिलिण्डरसहितको ग्यास जडान गरी सञ्चालन गर्न सकिनेछ ।

यहाँबाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १५ सय देखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुने दावी गरिएको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० वटा तीन पाङ्ग्रे टेम्पोलाई सीएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निस्शुल्क सहयोग गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्