टाइम्सलाई अनमोल बास्केटबल उपाधि



काठमाडौं ।

टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित गर्यो । राष्ट्रिय र उमेर समूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स टोलीको जितमा मनीष केसीले २० अंक योगदान गरे । मनीष नै प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसबापत उनले १० हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा फाइनलका ‘म्यान अफ द म्याच’ रोयलका निकेश मगरले १६ अंक जोडे । टाइम्सका लागि राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधानको १२ अंक र विजय बुर्जाको १६ अंक पनि जितका लागि महत्वपूर्ण रह्यो ।

तीन क्वार्टरमा पछि परेको स्थितिलाई उल्ट्याउँदै टाइम्स उपाधि चुम्न सफल भयो । टाइम्स पहिलोमा १४–१६, दोश्रोमा १८–२१ र चौथोमा १२–१६ ले पछि परेको थियो । तेश्रो क्वार्टरमा २६–१४ को अग्रता लिँदै टाइम्सले उपाधि सुनिश्चित ग¥यो । उपाधिसँगै टाइम्सले १ लाख नगद पुरस्कार पायो । रोयलले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

सो अवसरमा बास्केटबलका टेक्निकल कमिसनर दुर्गाबहादुर थापालाई सम्मान गरिएको थियो । नेपाल आर्मीका पुरुष बास्केटबल टोलीका कप्तान रविन खत्री पनि १० हजार नगदसहित सम्मानित भए । पुस १८ गतेदेखि शुरू प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्