झिल्टुङ क्रसकन्ट्री दौड माघमा



काठमाडौं, (नेस) ।

झिल्टुङ क्रसकन्ट्री दौडको छैटौं संस्करण नुवाकोटको बेलकोटगढीमा माघ ८ गते आयोजना हुने भएको छ । बुधबार एक पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल एथ्लेटिक्स परिवारले प्रतियोगिता माघ ८ गते हुने जानकारी गराएको हो । आठ गते बिहान १० बजे हुने प्रतियोगिता नुवाकोटको बेलकोटगढी, कोल्पुटारबाट शुरु भई बेलिनी, छाप, राजओडर, खड्गाछाप, सालचौर हुदै कोल्पुटारमै आई समाप्त हुनेछ । दौडको दूरी १३.४ किलोमिटर कच्ची, ४.५ किलोमिटर उकालो, दुई किलोमिटर समथर र बाँकी ओरालो सडकमा हुनेछ ।

प्रतियोगितामा १३.५ किलोमिटरको खुल्ला पुरुष र महिला, १३.५ किलोमिटर खुल्ला पुरुष स्थानीय, ४.५ किलोमिटर खुल्ला १६ वर्षमुनि छात्र र छात्रा, ४.५ किलोमिटर १६ वर्षमुनि पुरुष, महिला स्थानीय, ४.५ किलोमिटर ४५ वर्षमाथि पुरुष, १३.५ किलोमिटर भेट्रान खुल्ला र स्थानीय तीन–तीन जना आमा समूहको रिले दौडगरी ६ इभेन्ट सञ्चालन हुनेछ ।

प्रतियोगिताको खुल्ला महिला तथा पुरुषको विजेताले १५ हजार, दोस्रोले १० र तेस्रोले पाँच हजार प्राप्त गर्नेछन् । खुल्ला महिला तथा पुरुष स्थानीयका विजेताले १० हजार दोस्रोले सात हजार र तेस्रोले पाँच हजार पाउनेछन् ।

खुल्ला जुनियर छात्र, छात्रातर्फ र सोही स्पर्धाको स्थानीयतर्फका पहिलो हुनेले समान ६ हजार, द्वितीयले चार र तृतीयले दुई हजार प्राप्त गर्नेछन् । ४५ वर्षमाथिको स्थानीय स्पर्धाको विजेताले ६ हजार, द्वितीयले चार र तृतीयले दुई हजार पाउनेछन् । त्यस्तै, भेट्रान्सतर्फ पहिलो हुनेले आठ, दोस्रोले ६ र तेस्रो हुनेले चार हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । स्थानीय तीन–तीन जना आमा समूहको रिले दौडका विजेताले १२ हजार, द्वितीयले नौ हजार र तृतीयले ६ हजार पाउने आयोजकले जनाएको छ । सबै स्पर्धाका विजेताले नगदसँगै पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्