पुस्तक पढेर के पाइन्छ ?



पुस्तक नियमित पढ्ने बानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । नियमित रुपमा पढ्नु भनेको ज्ञान हासिल गर्ने मात्र नभएर धेरै प्रकारका स्वास्थ्य समस्याबाट बच्नु पनि हो । पढ्नु दिमागको लागि राम्रो हुन्छ । रातमा सुत्नुभन्दा पहिले किताब पढ्ने बानीले निद्रा राम्रो लाग्छ । अल्जाइमरजस्ता भुल्ने बिमारबाट टाढा भइन्छ । पुस्तक पढेर हुने केही फाइदा यस्ता छन् ।

खुशी : कहिलेकाहीँ खालि हुँदा कुनै राम्रो जीवनोपयोगी किताब पढ्ने बानी गर्न फाइदाजनक हुन्छ । किताब पढ्नाले दिन गएको पत्तै हुँदैन र ज्ञानगुणको कुरा पनि सिक्न पाइन्छ । यसो गर्दा अनावश्यक कुरा मनमा खेल्न पाउँदैन ।

आनन्दको निन्द्रा : सुत्नुभन्दा अगाडि अबेरसम्म टेलिभिजन हेर्ने र कम्प्युटरमा काम गर्ने बानीले निद हराउँदै जाने डर हुन्छ । तर, सुत्नुभन्दा पहिले किताब पढ्ने बानी भयो भने मीठो निद लाग्नेछ । त्यसकारण सुत्नुभन्दा पहिले किताबको पाना पल्टाउन नभुल्नुहोस् ।

स्मरण शक्ति बढ्छ : पढ्ने मानिसहरूमा स्मरण शक्ति बढ्दै जान्छ । टिभी हेर्ने र कम्प्युटरमा बस्ने व्यक्तिभन्दा पढ्ने व्यक्तिहरूको दिमाग तेज हुन्छ । यसका साथै पढ्ने व्यक्तिहरूको सोच्ने र सम्झने क्षमता बढी हुन्छ ।

अल्जाइमरबाट बचाउँछ : अल्जाइमर एक प्रकारको दिमागी बिमारी हो । यो रोग प्रायः उमेर बढी भएका व्यक्तिहरूमा लाग्ने गर्छ । यसका कारण व्यक्तिको सम्झन सक्ने क्षमता कम हुँदै जान्छ । एक अनुसन्धानमा यो पनि भनिएको छ कि जो व्यक्ति पढ्न तथा चेसलगायतका खेलमा व्यस्त रहन्छन् त्यस्ता व्यक्तिमा अल्जाइमर हुने सम्भावना कम हुन्छ ।

– सानु थापा, कलंकी

प्रतिक्रिया दिनुहोस्