केही दिनअघि यसै पत्रिकामा प्रकाशित ‘चीनसँगको फलाक नाका सञ्चालनको पहल’ शीर्षकको समाचारले विशेष गरी दोलखावासीमा खुशी जगाएको छ ।
दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१, लामाबगरस्थित फलाक नाका पुग्ने लामाबगर–फलाक ८ किलोमिटर सडक दुई निजी जलविद्युत् आयोजना– सानीमा र दुगड, बिगु गाउँपालिका र बागमती प्रदेश सरकारको पहलमा निर्माण भइरहेको समाचार छ । करिब ५ सय मिटर सडक निर्माण भएपछि फलाक नाकासम्म यातायात सञ्चालन हुने बिगु गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष मेमबहादुर तमाङले बताएको समाचारमा उल्लेख छ ।
लामाबगर–फलाक ८ किलोमिटर सडकमध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्यामनजिक ११४५ मिटर सुरुङमार्ग निर्माण गरिएको छ । लामाबगरको प्रवेशमार्ग दोलखा–सिंगटी ३६ किलोमिटर र सिंगटी–लामाबगर २८ किलोमिटर सडक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सहयोगमा निर्माण भइसकेको छ ।
समाचारअनुसार चीन–नेपाल–भारत जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्गको रुपमा रहेको करिब २५० किलोमिटरको सडकले चीनसँगको सिमाना दोलखाको फलाक नाकाबाट भारतसँगको सिमाना महोत्तरीको भिटामोडसम्म जोड्नेछ । त्रिदेशीय छोटो मार्गको रुपमा रहेको करिब २५० किलोमिटरको फलाक–भिटामोड सडकमध्ये लामाबगरबाट फलाकसम्मको ८ किलोमिटर सडकको स्तरोन्नति र तामाकोशी तथा जुमखोला र लप्चीखोलामा पक्की पुल निर्माण गरियो भने चीनसँगको रसुवा र तातोपानी नाकाको विकल्मा फलाक नाका सञ्चालन हुनसक्ने स्थानीयको भनाइ छ ।
चीनतर्फबाट फलाक नाकासम्म सडक आइसकेको र त्यहाँबाट झन्डै ३० किलोमिटरको दूरीमा उनीहरुको रोङसिया बजार रहेको बिगु गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष मेमबहादुर तमाङले बताएका छन् । विगतमा फलाक नाकाबाट कुती हुदै चीनसँग व्यापार हुने भएकोले सरकारले २०२५–०२६ सालबाटै लामाबगरमा भन्सार कार्यालय स्थापना गरेको स्थानीयले बताएका छन् ।
फलाक नाकाको विषयमा अध्ययन गर्न दोलखाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलसहितका जिल्लास्तरीय अधिकारीहरुको एक टोली त्यहाँ पुगेको थियो । डिभिजन सडक कार्यालय दोलखाका प्रमुख नारायणदत्त भण्डारीले ८ किलोमिटर सडक स्तरोन्नतिपछि फलाक नाकासम्मको सडक राम्रोसँग सञ्चालन हुने अवस्था रहेको उल्लेख गर्दै सो सडक स्तरोन्नतिको लागि आफूले पहल गर्ने बताएको समाचार छ ।
यस समाचारले दोलखाको फलाक नाका सञ्चालनमा आउन सक्ने आशा पलाएको छ । यदि यो आशा पूरा हुन सक्यो भने चीनबाट तामाकोशीको किनारैकिनार तराई हुँदै भारतसम्मको पुरानो व्यापारिक पैदल मार्ग नै सडकमार्गको रुपमा विकास हुनेछ ।
– जीवेशकुमार कार्की, दोलखा ।











प्रतिक्रिया