भक्तपुर ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत दृष्टिले मात्र होइन, शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण पहिचान बनाउँदै आएको जिल्ला हो । पछिल्ला वर्षहरूमा ‘भक्तपुरलाई शैक्षिक गन्तव्य’ बनाउने नारा विभिन्न स्थानीय तह, शैक्षिक संस्था तथा सरोकारवालाबाट उठ्दै आएको छ ।
गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, शहरी सुविधाको विस्तार र राजधानीसँगको निकटताले भक्तपुरलाई शिक्षा केन्द्रको रूपमा विकास गर्ने सम्भावना बलियो देखिन्छ ।
सन्दर्भ हो, भक्तपुरको एभरेस्ट स्कुलको शुल्क निर्धारणको । यो स्कुल भक्तपुरका उत्कृष्ट मात्रै होइन, सर्वाेत्कृष्टमै पर्दछ । यद्यपि स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले तोकेको शुल्क सीमाभित्र यो स्कुलको शुल्क रहेको छ । नगरपालिकाले गरेको शुल्क निर्धारणलाई अक्षरशः पालना गर्दै गतवर्षभन्दा कम शुल्क विद्यार्थीका लागि निर्धारण गरिएको छ ।
एकातिर विद्यार्थीसँंग कम शुल्क लिने अर्काेतिर शिक्षक–कर्मचारीहरुको सामाजिक सुरक्षा कोष राखिदिने थप योजना स्कुलको छ । यति चुनौतीका बाबजुद पनि अहिले केही तत्वले यस स्कुलको शुल्कको विषयलाई लिएर धमिलो पानीमा माछा मार्ने काम भइरहेको आभास भइरहेको छ ।
यो स्कुलले भन्दा वढी शुल्क लिने भक्तपुरमा त्यस्ता धेरै स्कुलहरु छन् । तर तिनीहरुको विषयमा खासै चासो र चर्चा गरिएको देखिएको छैन । केवल एभरेस्ट स्कुललाई नै केन्द्र त्यो तत्वले बनाउनुको खास उद्देश्य के हो ? जबकि सरोकारवाला सबैले म्याइन्युटिङ गरेर हस्ताक्षर गरी नगरपालिकाले तोकेको मापदण्डमै रहेर शुल्क निर्धारण गरिएको छ ।
शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन पूर्वाधार, दक्ष जनशक्ति, आधुनिक प्रविधि, प्रयोगशाला, पुस्तकालय, अतिरिक्त क्रियाकलाप तथा सुरक्षित वातावरण आवश्यक हुन्छ । यी सबै पक्ष सुधार गर्न विद्यालयलाई पर्याप्त आर्थिक स्रोत चाहिन्छ । निजी विद्यालयहरूले आफूले प्रदान गर्ने सेवाअनुसार शुल्क निर्धारण गर्न पाउनुपर्ने तर्क यहीँबाट पनि उठ्छ । गुणस्तरको अपेक्षा गर्ने तर शुल्क नियन्त्रण गरेर लगानीमै रोक लगाउने हो भने शैक्षिक गन्तव्य बनाउने सपना व्यवहारमा सफल हुन कठिन हुन्छ ।
यहीँबाट मुख्य द्वन्द्व शुरु हुन्छ– ‘गुणस्तरीय शिक्षा’ र ‘सुलभ शिक्षा’ बीचको सन्तुलन कसरी कायम गर्ने ? यदि विद्यालयलाई पूर्ण स्वतन्त्रता दिने हो भने शिक्षा महँगो हुन सक्छ । यदि अत्यधिक नियन्त्रण गर्ने हो भने विद्यालयले गुणस्तर सुधारमा लगानी गर्न सक्दैनन् ।
भक्तपुरलाई साँच्चिकै शैक्षिक गन्तव्य बनाउने हो भने केवल भवन ठूला बनाउने वा अंग्रेजी माध्यमको प्रचार गर्ने मात्र पर्याप्त हुँदैन । यहाँ दीर्घकालीन शैक्षिक नीति आवश्यक छ । स्थानीय तहले निजी विद्यालयलाई शत्रुका रूपमा होइन, साझेदारका रूपमा लिनुपर्छ ।
शुल्क निर्धारणमा पारदर्शी मापदण्ड बनाइनुपर्छ । विद्यालयले खर्च, शिक्षक तलब, पूर्वाधार लगानीलगायतका विवरण सार्वजनिक गर्ने र त्यसको आधारमा वैज्ञानिक शुल्क निर्धारण गर्ने व्यवस्था हुन सक्छ । त्यस्तै, सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार नगरी केवल निजी विद्यालयलाई नियन्त्रण गरेर मात्र समाधान निस्कँदैन । यदि सरकारी विद्यालयहरू प्रतिस्पर्धी बने भने निजी विद्यालय पनि स्वाभाविक रूपमा जिम्मेवार र संयमित बन्न बाध्य हुन्छन् ।
भक्तपुरमा धेरै विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा दिएका छन् । यसले जिल्लाको शैक्षिक प्रतिष्ठा बढाएको छ । तर त्यो प्रतिष्ठालाई टिकाइराख्न शिक्षकको सम्मानजनक तलब, प्रविधिमैत्री शिक्षण, अनुसन्धानमूलक अभ्यास र विद्यार्थीमैत्री वातावरण आवश्यक हुन्छ । यी सबैका लागि आर्थिक आधार बलियो हुनुपर्छ ।
अन्ततः ‘शैक्षिक गन्तव्य’ भन्ने शब्द केवल नारामा सीमित हुनुहुँदैन । त्यसका लागि राज्य, विद्यालय, अभिभावक र समुदायबीच विश्वासको वातावरण निर्माण आवश्यक छ । शुल्क नियन्त्रण र गुणस्तर सुधार दुवैलाई सन्तुलित रूपमा अघि बढाउन सके मात्र भक्तपुर वास्तवमै नेपालको अग्रणी शैक्षिक केन्द्र बन्न सक्छ ।
– एक अभिभावक, एभरेस्ट स्कुल, भक्तपुर ।











प्रतिक्रिया