क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार लिगल र पोख्रेललाई



काठमाडौं, (नेस) ।

क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार २०७८ बाट वरिष्ठ साहित्यकार गंगा लिगल र पत्रकार कमलमणि पोख्रेल सम्मानित हुनुभएको छ । साहित्यकार लिगल रतनबहादुर लामिछाने विशिष्ट साहित्य पुरस्कार –२०७८, पोख्रेल रत्नबहादुर लामिछाने युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

उहाँहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं वरिष्ठ साहित्यकार प्रा.डा. उषा ठाकुरले एक समारोहका बीच सम्मानपत्र प्रदान गर्नुभयो । लिगलका विभिन्न विधाका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् भने पोख्रेल प्राइम टेलिभिजनमा समाचार संयोजकका रूपमा कार्यरत रहनुभएको छ ।

सो अवसरमा गीतकार एवं कवि सपना लामिछाने देउजाद्वारा लिखित कविता संग्रह ‘जिन्दगी एक यात्रा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य वरिष्ठ साहित्यकार प्रा.डा. उषा ठाकुर र वरिष्ठ साहित्यकार प्रा.दिनेशराज पन्तले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

साहित्यकार सुशीला देउजाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार हरिप्रसाद पाण्डेय, जलेश्वरी श्रेष्ठ, गायक आनन्द कार्की र कार्यक्रम संयोजक दीपक भेटुवाल (दीपसागर) लगायतले कवि एवं गीतकार लामिछानेद्वारा लिखित पुस्तकमा समाविष्ट कविता र लेखकका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सो अवसरमा राधा कार्की, तारा दाहाल, सनतकुमार आचार्य तथा रियनराज खनाललगायतका कविहरूले विमोचित पुस्तकमा समाविष्ट कविताहरू वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्