गीतकार बान्तुको एकल साँझ



फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।

नेपथ्यबाट गीतकार तथा कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएपछि मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी। त्यसपछि शुरू भयो, अमर बान्तु काव्य साँझ । हँसिलो र फूर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै आफ्नो एकल काव्य साँझको माहोल जगाए

मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एकतर्फी प्रेममा परेछु कि कसो
सधैं सधैं तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ।

मिलाप मासिकले आयोजना गरेको काव्य साँझअन्तर्गत करिब एक घण्टाको समयमा बान्तुले होची मिन्ह र पोलपोट शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे। त्यसपछि, उनले गजल सुनाए नजरैले घाइते पर्न माहिर हजुर। यसपछि आप्mनै जिन्दगीका बारे रचना गरिएको गजल ए जिन्दगी सुनाएर माहोललाई नै स्तब्ध बनाएका उनले अन्त्यमा घरबेटी र चोकमा गफिनेहरूको गजल सुनाएर साँझ रित्याए। दर्शकदीर्घाबाट वान्समोर वान्समोर गुञ्जिन थालेपछि उलनले फेरि सुनाउनुपर्यो मेरी प्रिय कविता ।

मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा कवि एस्पी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन अनन्त भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सिर्जनाको कामना गरे। बान्तुको थुप्रै गीत लोकप्रिय छन् भने परिभाषाका राँटाहरू कविता एवं गीतसंग्रह तथा अमर भावना र अमर भावना–२ नामका दुई गीति एल्बम प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्