कुर्दै बस्छन् नयन बिहानी



  • सागर फुयाल

बिथोलिएर निन्द्रा सधैँ अनिदो बित्छन् रातहरू
कुर्दै बस्छन् नयन बिहानी, बिताइ एक्ला रातहरू ।

प्यासीलाई पानी प्यारो, आकाश प्यारो चरीलाई
भँवरालाई फूल प्यारो, मिलन प्यारो वियोगीलाई
यति प्यारो संसारमा मेरो भागमा उच्छवासहरु
कुर्दै बस्छन् नयन बिहानी, बिताइ एक्ला रातहरू ।

एकोहोरो शंख बजेझैँ लाग्छन् रातका सन्नाटाहरू
मनभित्र डुल्दै बस्छन् ओसिला चिसा भावनाहरू
नभोगी कहिले स्वप्निल संसार बित्ने भए रातहरू
कुर्दै बस्छन् नयन बिहानी, बिताइ एक्ला रातहरू ।

प्रतिक्रिया दिनुहोस्