काव्य साँझमा बान्तुका सिर्जना



काठमाडौं ।

पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीको बाक्लो जमघट हुँदै थियो ।

कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो—

‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’

नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनासाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी । त्यसपछि शुरू भयो, ‘अमर बान्तु काव्य साँझ’को औपचारिक आरम्भ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो ।

उद्घाटनपछि कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पार्दै भन्नुभयो– ‘माझ किराँतको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरे स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुनुहुन्छ ।’

त्यसपछि कवि बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरू गरे—

‘मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एक तर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ ।’

करिब एक घन्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गर्नुभयो । बान्तुले ‘नजरैले घाइते पर्ना माहिर हजुर’, ‘ए जिन्दगी’, ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को गजल सुनाएर कविता÷काव्य प्रस्तुतिको मैझारो गर्नुभयो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताउनुभयो । उहाँले साहित्य साधनाका साथै व्यवसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘बान्तुजीका रचनाहरू जस्तै उहाँमा कविता कण्ठस्त सुनाउने कला पनि बेजोड रहेछ । यो कवितालाई लोकप्रिय बनाउने सन्दर्भमा नयाँ र अनुकरणीय कुरा हो ।’

कृष्ण भुसालको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा कवि एस्पी कोइराला, कवि श्रवण मुकारूङ र लायन्स क्बलका तर्फबाट लायन्स अनन्त भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सृजनाको कामना गरे । कार्यक्रममा बान्तुलाई कुलपति उप्रेतीले मिलाप सम्मान अर्पण गर्नुभएको थियो ।

अमर बान्तुको कविता तथा गीतसङ्ग्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतहरूका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ प्रकाशित छन् । उनका दर्जनौँ गीतहरू लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्