रियल मेड्रिडको पुनरागमन जित



मेड्रिड, (एजेन्सी) । 

स्ट्राइकरद्वय करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरेपछि रियल मेड्रिडले स्पेनिस ला लिगामा पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिगको शीर्ष टोली रियलले बलियो प्रतिद्वन्द्वी सेभियालाई २–१ गोलअन्तरले हराएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली सेभियाले १२औं मिनेटमा शुरुवाती अग्रता लिएको थियो । राफा मिरले मार्काेस एकुनाको पासमा गोल गर्दै सेभियालाई अग्रता दिलाए ।

सेभियाको गोलपछि आक्रामक बनेको रियलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो । कप्तान करिम बेन्जेमाले रिवाउन्ड बलमा गोल गर्दै रियललाई खेलमा फर्काए । इडर मिलिटाओको लामो प्रहारलाई सेभियाका गोलरक्षक यासिन बोनोउले नियन्त्रण गर्न नसकेको बललाई बेन्जेमाले गोल गरेका थिए । जारी सिजन उच्च लयमा रहेका बेन्जेमाको यो ११औं गोल हो । सर्वाधिक गोलकर्ताको शीर्षसूचीमा रहेका उनले सातवटा असिस्ट पनि गरेका छन् ।

रियलका लागि भिनिसियसले ८७औं मिनेटमा निर्णायक गोल गरे । उनले इडर मिलिटाओको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । भिनिसियसको जारी लिगमा यो नवौं गोल हो । सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका भिनिसियस ‘म्यान अफ दी म्याच’ बने । शुरुवातमै गोल गरेको सेभियाले दोस्रो हाफमा राम्रा अवसर गुुमाउँदा हार खेप्न बाध्य बन्यो । जितसँगै शीर्षस्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक पुगेको छ । पराजित सेभियाको २८ अंक छ ।

आइतबार राति नै भएको खेलमा एट्लेटिकोले काडिजलाई उसैको मैदानमा ४–१ गोलले पराजित गरेको थियो । त्यसैगरी, अर्को खेलमा स्पान्योलसँग रियल सोसिडाड १–० गोलअन्तरले पराजित भएको छ । पराजित सोसिडाडको १५ खेलबाट २९ अंक छ । जितसँगै स्पान्योलको २० अंक छ । अर्को खेलमा रियल बेटिसले लिभान्तेलाई ३–१ गोलले पराजित ग-यो ।

प्रतिक्रिया दिनुहोस्