संक्रमणमुक्त शुभकामना



नेपालीहरूको महान् चाड तिहार शुरू भएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण दुई वर्षदेखि चाडपर्व राम्रोसँंग मनाउन नपाएका नेपालीले गत वर्षको तुलनामा यस वर्ष दशैं हर्षोल्लासका साथ मनाएका छन् । बजार, यातायातमा देखिएको भिडभाडले तिहार पनि दशैंजस्तै हर्षोल्लासका साथ मनाउन आमनागरिक आतुर देखिन्छन् । आजदेखि सरकारी बिदा शुरू भएसँंगै शहरबाट कर्मचारीहरू पनि स–परिवार गाउँतिर लागेका छन् । तिहारको लागि बजारमा किनमेल गर्ने हुन् वा सार्वजनिक यातायातबाट आफ्नो गन्तव्य जाने, सबैको भिडभाड बढेको छ । भिडभाड बढेसँंगै कोरोना संक्रमण बढ्नुका साथै शान्ति सुरक्षामा पनि चुनौती थपिने छ ।

एक ठाउँबाट अर्को ठाउँ ओहोर–दोहोर गर्नेको संख्या र भिडभाड बढ्ने भएकोले कोरोना संक्रमण दर बढ्ने कुरामा विशेष ध्यान नपुर्‍याए अहिले नियन्त्रणमा रहेको कोरोना महामारी फेरि अनियन्त्रित नहोला भन्नसकिन्न । यस विषयमा केन्द्रीय सुरक्षा समितिले कोभिड–१९ पुनः संक्रमण हुन नदिन अपनाउने सुरक्षा रणनीति र तिहारमा हुने भिडभाड र सुरक्षा चुनौतीबारे बेलैमा चासो दिएको देखिए पनि यो चासोको कार्यान्वयन गर्ने सवालमा ध्यान नपुग्ने हो कि भन्ने आशंका बाँकी छ । केन्द्रदेखि प्रदेश हँुदै स्थानीय तहसम्मले अहिलेको विषम पपिरस्थितिलाई मध्यनजर गरी कोरोना फैलन नदिन र शान्ति सुरक्षा कायम राख्न ध्यान पु¥याउनुपर्छ । चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायले विशेष ध्यान पु¥याउनुपर्छ । दीपावली पर्व छिमेकी मुलुक भारतमा पनि धूमधामका साथ मनाइन्छ । यस समयमा ‘रोटी–बेटी’ को सम्बन्ध रहेको नेपाल–भारतबीच पनि आउजाउ बाक्लिने हुन्छ । छिमेकी मुलुक भारतसँंगको खुला सिमानाका कारण चाडबाडको समयमा सीमा नाकामा समेत अवाञ्छनीय गतिविधि बढ्न सक्छ । यही मौकामा तेस्रो मुलुकबाट समेत गैरकानुनीरूपमा मानिसहरू भित्रिन सक्छन् यसमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्छ । साथै, तिहारको लागि राजधानीबाट बाहिरिने यात्रुहरूलाई राजधानीको नाकामा कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्य मन्त्रालयको प्रयासलाई सकारात्मकरूपमा लिनुपर्छ ।

नेपालीको महान् चाडको रूपमा लिइने दशंै पछिको महŒवपूर्ण पर्व तिहारको आमपाठकका साथै देश विदेशमा रहेका सबै नेपालीहरूमा हार्दिक शुभकामना । यसैबीच, शुभकामना दिनैपर्ने अर्को महान् पर्व नेपाल संवत् ११४२ पनि परेको छ । भोलि शुक्रबार नेपाल संवत्का प्रवर्तक शंखधर साँख्वाःलाई सम्झिँदै शुभकामना आदान–प्रदान गरिंदैछ । नेपाल समाचारपत्रले विशेषांक नै प्रकाशित गरेर नेपाल संवत्प्रति सम्मान प्रकट गर्दै छ । नेपाल संवत् ११४२ का उपलक्ष्यमा श्रद्धेय पाठक तथा खासगरी यस संवत्लाई राष्ट्रिय संवत्का रूपमा स्थापित गराउन योगदान दिने समुदायप्रति विनीत सम्मान भाव प्रकट गर्न पनि नेपाल समाचारपत्रले विशेषाङ्कका साथ ऐक्यबद्धता प्रकट गर्न लागेको हो । एउटा अभियान, आन्दोलन वा संघर्षका रूपमा ४२ वर्षअघि नेपाल संवत् नयाँ वर्षको अवसरमा भिन्तुना र्‍याली शुरू भएको थियो । नेपाल संवत्का प्रणेता शंखधर साँख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै र सो संवत्ले राष्ट्रिय मान्यता पाएसँगै मूलतः अभियानको कहर खण्ड सकिएको थियो । यस संवत्का उपलक्ष्यमा पनि सबै पाठक, विक्रेता तथा विज्ञापनदाताप्रति हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्