वैज्ञानिक भाडादर कायम गर



सरकारी कमजोरीका कारण यातायात व्यावसायीले मनपरी भाडा असल्न थालेका छन् । अवैज्ञानिक रूपमा विजोर अंकको भाडाका कारण पनि यात्रु मारमा परेका हुन् । ५ किलोमिटर दुरीको भाडा १८ रुपियाँ कायम गर्दा सहचालकले यात्रुसँग २० रुपियाँ बढी लिने गरेका छन् । यात्रुले गुनासो गरेमा २ रुपियाँ फिर्ता दिनुको साटो चकलेट दिने गर्दछन् ।

सरकारको अपारदर्र्शी निर्णय र चलखेलले गर्दा शून्य दरमा अर्थात् २० रुपियाँ भाडा कायम गरेको भए यो समस्या आउने थिएन । सरोकारवाला निकायका अधिकारीले भाडावृद्धि अवैज्ञानिक भएको स्वीकार गरिसकेका छन् । गुनासो आउन थालेपछि भाडा बढाउने निर्णय गरेको वागमती प्रदेश सरकारले यो विषयमा पुनरावलोकन गर्ने जनाएको छ ।

१० किमि दुरीका लागि २७ रुपियाँ कायम गर्दा यात्रु ३ रुपियाँ ठगिन पुगेका छन् । पछिल्लो समय उपत्यकामा चल्ने सवारीसाधनले भाडा बढी लिएर यात्रु ठगिन थालेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ ।

अहिलेसम्मको तथ्याङ्कअनुसार बढी भाडा असुलेको आरोपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय १० सवारीसाधनलाई जरिवाना गरेको छ । यातायात व्यववस्था विभागले ९ सवारीलाई कारबाही गरिसकेको छ । आफ्नै गल्तीका कारण कारबाही भोग्नुपरेको सवारीचालकले २ रुपियाँको सिक्का नभएका कारण फिर्ता दिन सम्भव नभएको बताउने गरेका छन् ।

वागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि भाडा समायोजन गरेको थियो । समायोजन गरेकै दिनबाट सवारीचालकले बढी भाडा असुल्न थालेका थिए । यातायात व्यावसायी राष्ट्रिय महासंघले सरकारले चलखेल गरेर तिर्न नमिल्ने गरी भाडा कायम गरेको आरोप लगाएका छन् । उनीहरुले अवैज्ञानिक भाडाका कारण चालक र सहचालकलाई कारबाही गर्नु दुःखद घटना हुन थालेको गुनासो छ ।

यातायात व्यवस्था विभागले बढी भाडा लिने सवारीचालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउने चेतावनी दिएको छ । यसरी मुद्दा चलाउँदैमा समस्या समाधान हुँदैन । समस्या समाधान गर्न त सरोकारवाला निकायबीच संवाद हुनु जरुरी छ ।

विजोर अंक भाडादर राख्दा यात्रु ठगिने व्यावसायी नै स्वीकार गर्छन् । यातायात व्यावसायीले तत्काल यात्रुलाई तिर्न मिल्ने गरी भाडा कायम गर्न आग्रह गरिसकेका छन् । यस विषयमा सरकारले कुनै निर्णय गर्न सकेको छैन । यही अवस्थामा व्यावसायीले बढी भाडा लिने र यात्रुले नतिर्ने प्रवृत्ति बढेमा यो समस्याले जटिल समस्या बढ्न सक्छ । यो विषयमा सरकारले बैलैमा सोच्नु जरुरी छ । यस विषयमा विभागले भाडा बढाउन आफ्नो हात नभएको बताएका छन् ।

सरकारले वैज्ञानिक भाडाको नाममा २८ प्रतिशत वृद्धि गरेको छ । प्रतिशतको आधारमा भाडा बढाएका कारण समस्या देखिएको विभागका अधिकारीको भनाइ छ । अब यस विषयमा तत्काल ध्यान दिएर वैज्ञानिक भाडादर कायम गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्