६ लाख ८० हजार डलर पर्ने उड्ने बाइक तयार



टोक्यो, (एजेन्सी) ।

जापानी कम्पनीले अब मोटर कार चलाउनेहरूलाई आफ्ना कार ६ लाख ८० हजार अमेरिकी डलर मूल्य पर्ने उड्ने मोटरबाइकसँग साट्न अनुरोध गर्नसक्ने अनुमान गरिएको छ । बुधबार बिहानदेखि अलि टेक्नोलोजिजको यस्तो अनुपम बाइक एक्स टुरिस्मो लिमिटेड एडिसन बिक्रीमा राखिएका छन् ।

जापानको राजधानी टोक्योस्थित यस कम्पनीलाई इलेक्ट्रोनिक्स जायन्टस् मित्सुबिसी र फुटबलर केइसुके होन्डाले सहयोग र समर्थन गरिरहेका छन् ।

अलि टेक्नोलोजिजका अनुसार सिंगल चार्जमा यो होभरबाइक एक सय किमि प्रतिघन्टाको वेगमा ४० मिनेटसम्म उड्न सक्छ । यस कम्पनीले सन् २०२२ को मध्यसम्ममा तीन सय केजी वजनको तथा एक व्यक्ति मात्र चढ्न सकिने दुई सयवटा यस्ता होभरबाइक निर्माण गर्ने लक्ष्य राखेको छ । परम्परागत इन्जिनजडित यस बाइकमा ब्याट्रीबाट चल्ने चारवटा मोटर राखिएका छन् ।

अलि टेक्नोलोजिजका प्रमुख कार्यकारिणी अधिकारी दाइसुके कातानोले भनेका छन्– ‘अहिलेसम्म बाइकलाई जमिनमा मात्रै गुडाइने गरिएको थियो ।

हामीले उड्ने बाइक बनाएर नयाँ प्रक्रियाको परिवर्तन ल्याएका छौँ । एक करोड ३५ लाख जनआवादी भएको टोक्योको प्रमुख समस्या भनेको सडकको भिडभाड नै हो ।’

तर, वर्तमान प्रचलित कानुनअनुसार जापानको व्यस्त सडकमाथि होभरबाइक उडाउन प्रतिबन्धित नै छ ।

प्रतिक्रिया दिनुहोस्