विश्व बैंक र एयूद्वारा सुडानमाथि कारबाही



खार्तुम, (एजेन्सी) ।

विश्व बैंकले सुडानलाई आफूले दिने गरेको आर्थिक सहयोग रोकेको छ । नागरिक सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हत्याएपछि विश्व बैंकले यो निर्णय गरेको हो ।

सोमबार प्रधानमन्त्रीलगायत सेनाले राजनीतिक नेताहरूलाई गिरफ्तार गरेपछि मुलुकभरि विरोध प्रदर्शन शुरू हुनुका साथै अन्तर्राष्ट्रिय जगत्बाट व्यापक आलोचना भएको थियो ।

असंवैधानिक तरिकारले सेनाले सत्ता कब्जा गरेकै आधारमा अफ्रिकन युनियन (एयू) ले समेत सुडानलाई आफ्नो समूहबाट निलम्बन गरेको छ । संयुक्त राज्य अमेरिकाले पनि सुडानलाई ७० करोड अमेरिकी डलर बराबरको सहयोग रोक्का गरेको छ ।

विगत दुई वर्षयता सुडानको नागरिक समूह र सैनिक नेताहरूले नाजुक शक्ति साझेदारी सम्झौता पालना गर्दै आएका थिए । यसरी धमाधम आर्थिक अनुदान सहयोग काटिन थालेकोले नाजुक अर्थतन्त्र भएको सुडानले गम्भीर परिणामहरू भोग्नुपर्ने आर्थिक विश्लेषक तथा विशेषज्ञहरूले बताएका छन् ।

विश्व बैंक र एयुका कदमका कारण सैनिक विद्रोहका नाइके जनरल अब्देल फत्ताह बुर्हानमाथि नागरिक सरकारको पुनस्र्थापनाका लागि दबाब परेको छ ।

बुर्हानले यसअघि नै राजनीतिक अन्तरकलहका कारण सिर्जित गृहयुद्धको सम्भावित खतरा टाल्न सैनिक विद्रोह अपरिहार्य भएको सफाइ दिइसकेका छन् ।

विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले भनेका छन्– ‘सुडानका पछिल्ला घटनाहरूका कारण निकै चिन्तित छु । मुलुकको सामाजिक, आर्थिक उत्थान तथा विकास कार्यमा यसबाट नाटकीय असर पर्ने कुराले अझै बढी चिन्तित तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्