फ्लाइट एटेन्डेन्टद्वारा सार्वजनिक स्थलमा लुगा फुकालेर प्रदर्शन



मिलान, (एजेन्सी) ।

अहिले सञ्चालनमा नरहेको इटालियन एयरलाइन एलिटालियाका दर्जनौं पूर्व महिला फ्लाइट एटेन्डेन्टले मध्य रोमको सार्वजिनक स्थलमा युनिफर्म फुकालेर मौन विरोध प्रदर्शन गरेका छन् । तिनीहरूले भित्री वस्त्र मात्र बाँकी रहने गरी पोशाक खोलेका थिए ।

लामो समयदेखि आर्थिक समस्यासँग जुध्दै आइरहेको तथा दशकौं लामो इतिहास बोकेको यस एयरलायन्सले गत १४ अक्टोवरमा अन्तिम उडान भरेको थियो । त्यसको भोलिपल्टदेखि नयाँ एयरलाइन आइटीएले एलिटालियाकै केही विमानसमेत प्रयोग गरेर उडान थालनी गरेको थियो ।

आइटिएले एलिटालियाको ब्रान्डसमेत खरिद गरेको भए पनि त्यसका १० हजारमध्ये ३ हजार कर्मचारीलाई मात्र रोजगार निरन्तर गर्न दिएको हो । युनियनका अधिकारीहरूले अहिले आइटिएका लागि काम गर्न नियुक्त गरिएका कर्मचारीहरूलाई चलनचल्तीभन्दा न्युन तलब दिइएको दाबी गरेका छन् ।

रोमको क्यापिटलाइन हिलस्थित चोकमा लस्करै उभिएका करिब पचास जना फ्लाइट एटेन्डेन्टले आफ्ना काँधमा झुण्ड्याइएका कम्पनीका ब्याग बिस्तारै फुटपाथमा राख्दै क्रमशः ओभरकोट, युनिफर्म ज्याकेट र स्कट खोलिसकेपछि आफ्ना हाइहिल जुत्ता पनि फुकालेका थिए । त्यसपछि केहिबेर चुपचाप उभिएका तिनीहरूले एकैसाथ ‘हामी एलिटालिया हौं’ भन्दै चिच्याएका थिए ।
इनियनका अधिकारीहरूले जागिर गुमाउनेहरूलाई पाँच वर्षसम्म बोरोजगार सुविधा दिलाउन सरकारलाई दबाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्