जापानमा बाल आत्महत्या दरमा वृद्धि



टोक्यो,(एजेन्सी) ।

चार दशककै तुलनामा अहिले जापानमा बाल आत्महत्या दर निकै बढेको कुरा शिक्षा मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै जापानको स्थानीय सञ्चार माध्यमले जनाएको छ । गत वर्ष कोभिड १९ महामारीका कारण विद्यालयहरू धमाधम बन्द हुन थालेपछि प्राथमिकदेखि उच्च माध्यमिकस्तरका ४ सय १५ जना बालबालिकाले आत्महत्या गरेको शिक्षा मन्त्रालयको सर्वेक्षणले जनाएको छ ।

पछिल्लो वर्षको तुलनामा यो संख्या झण्डै १ सयले बढी हो । आसाही अखबारका अनुसार सन् १९७४ यताकै यो संख्या सबैभन्दा बढी हो । जापानमा आत्महत्याको लामै इतिहास रहेको छ । अपमान वा बेइज्जतीबाट जोगिन वा खप्न नसक्ने कारण अधिकांश जापानीले आत्महत्या गर्ने गरेका छन् ।

प्रायशः वयस्क उमेरका तिनीहरूले परम्परागत आत्महत्या शैली ‘हाराकिरी’ लाई अपनाउने गरेका छन् । जसअनुसार तिनीहरू आफ्ना शरीरमा तरवार प्रहार गर्दछन् । विश्वको शक्तिशाली औद्योगिक मुलुकहरूको समूह जि – सेभेनमा आत्महत्याको मामिलामा जापान अग्रस्थानमा रहँदै आएको छ । तर, जापानी सरकारको अथक प्रयासको परिणामस्वरूप विगत १५ वर्षभित्र आत्महत्याको संख्यामा ४० प्रतिशतले कमी आएको देखिन्छ । सन् २००९ यता यसको संख्यामा निरन्तर कमी आइरहेको छ ।

तर, कोरोना महामारीका बेला अर्थात् सन् २०२० मा अचानक पुनः अत्महत्याको संख्यामा वृद्धि भएको हो । कोरोनाको कारण निकै तनावमा परेका जापानी बालबालिकाका व्यवहारमा पनि परिवर्तन आएको शिक्षा मन्त्रालयको सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्