शाही उपाधि त्याग्दै जापानी राजकुमारीले विवाह गरिन्



टोक्यो, (एजेन्सी) ।

जापानकी राजकुमारी माकोले राजकीय उपाधिलाई त्याग्दै आफ्नो कलेजका प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन् । जापानी कानुनअनुसार राज परिवारका महिला सदस्यहरूले सर्वसाधारणसँग विवाह बन्धनमा बाँधिने हो भने राजकीय सम्मान र उपाधि सबै त्याग्नुपर्ने हुन्छ । तर, यो नियम पुरुष सदस्यहरूमाथि भने लागु हुँदैन ।

साथै माकोले विवाहमा परम्परागत राजकीय संस्कार पनि पालना गरेकी छैनन् । उनले विवाहका बेला राजपरिवारका सदस्यहरूलाई दाइजोकै स्वरूप प्रदान गरिँदै आएको एकमुष्ट रकम लिनसमेत अस्वीकार गरेकी छन् । उनले १३ लाख अमेरिकी डलर लिन अस्वीकार गरेकी हुन् ।

यसरी दुईवटै सहुलियत वा सुविधा त्याग्ने उनी जापानी राजप्रासादकी पहिलो महिला सदस्य भएकी छिन् । अब यी नवविवाहित दम्पती संयुक्त राज्य अमेरिका जाने अनुमान गरिएको छ । कोमुरो त्यहाँ वकिल पेशामा आवद्ध रहेका छन् ।

माकोको यस कदमलाई बेलायतका शाही परिवार सदस्य मेगान मार्कल र राजकुमार ह्यारीको वैवाहिक प्रसंगसँग जोडेर हेरिएको छ । अहिले जापानमा यस जोडीले ‘जापानका ह्यारी र मेगान’ को उपनाम पाएका छन् । माकोसँगको प्रेम सम्बन्ध बाहिरिएदेखि नै कोमुरो सबैको अत्यान्तै चासोको विषय बन्दै आएका थिए । हालसालै जापान आउने बेला पोनीटेल अर्थात् केशको चुल्ठोका कारण कोमुरोको व्यापक आलोचना भएको थियो ।

केही जापानी अखबार र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले समेत उनको हेयरस्टाइल जापानी परम्परामा अस्वाभाविक रहेको तथा एक राजकुमारीसँग विवाह गर्न लागेका व्यक्तिलाई त्यस्तो नसुहाउने भन्दै टीकाटिप्पणी गरेका थिए ।

मंगलबार तिनीहरूको विवाहलाई लिएर विरोध प्रदर्शनसमेत भएको छ । पत्रकार सम्मेलनमा माकोले आफ्नो विवाहको कारण जापानी जनताको चित्त दुखाएकोमा क्षमा याचना गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्