स्पेनमा देह व्यापार प्रतिबन्धित हुने



म्याड्रिड,(एजेन्सी) ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आइतवार मुलुकमा देहव्यापारलाई अपराधीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । भ्यालेन्सिया शहरमा आयोजित सोसलिस्ट पार्टीको तीन दिने बैठकको अन्त्यमा देह व्यापारले महिलाहरूलाई यौनदासी बनाउने विचार प्रकट गरेका छन् । सन् १९९५ मा स्पेनमा देह व्यापारलाई कानुनी मान्यता प्रदान गरिएको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१६ सम्ममा स्पेनको यौन उद्योगले वार्षिक करिब ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको कारोबार गर्ने गर्दथ्यो । सरकारीस्तरमा नै सन् २००९ मा गरिएको एक सर्भेक्षणले तीनजनामध्ये एकजना पुरुषले पैसा तिरेर यौन सम्पर्क राख्ने गरेको देखाएको थियो । तर, सोही वर्ष सार्वजनिक गरिएको अर्को एउटा तथ्यांकमा दह व्यापारीको सम्पर्कमा रहने पुरुषको संख्या ३९ प्रतिशत रहेको जनाइएको थियो ।

यसै गरी सन् २०११ मा संयुक्त राष्ट्र संघको एक अध्ययनले थाइल्यान्ड र प्युएर्टो रिकोपछि विश्वमै स्पेन तेस्रो सबैभन्दा ठूलो यौन बजार रहेको दाबी गरेको थियो । अहिले स्पेनमा देह व्यापार वर्जित अवस्थामा छ । तैपनि सहमतिमा पैसा लिएर यौन सेवा दिने वा लिने दुवैलाई सजाय तोकिएको छैन । तर, यस्तो गतिविधि सार्वजनिक स्थलमा भने प्रतिबन्धित गरिएको छ । स्पेनमा करिब ३ लाख महिला यौन व्यपारमा लागेको अनुमान गरिएको छ ।

सान्चेजको पार्टीले महिला मतदाताहरूलाई आकर्षित गर्ने उद्देश्यले सन् २०१९ को चुनावी घोषणा पत्रमै देहव्यापारलाई प्रतिबन्धित गर्ने उल्लेख गरेको थियो । यसैगरी सन् २०१७ मा मानव ओसार प्रसारविरुद्धको कारवाहीमा स्पेनी प्रहरीले १३ हजार महिलालाई उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्