टर्कीका १० जना राजदूतलाई देश निकालाको तयारी



इस्तानबुल, (एजेन्सी) ।

टर्कीका राष्ट्रपति रिसेप ताइएप एर्दोगानले अमेरिकासहित १० वटा पश्चिमी मुलुकका राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई ‘पर्सन नन ग्रेटा’ घोषणा गरेका हुन् ।

यो एउटा कूटनीतिक शब्दावली हो जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई पर्सन नन ग्रेटा घोषणा गरेपछि ऊ सम्बन्धित देशको दूतावासमा अयोग्य भएको ठहर हुन्छ ।

ती दूतहरूले सामाजिक अभियन्ता ओस्मान कावालालाई तत्काल रिहा गर्न आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि ताइएपले विदेश मन्त्रालयलाई यस्तो आदेश दिएका हुन् । पर्सना नन ग्राटाले वैधानिक कूटनीतिक हैसियत हटाउन सक्छ । यसको परिणाम प्रायः निष्कासन अथवा राजदूतहरूको वैधानिक मान्यता फिर्ता लिने हुन्छ ।

यसअघि टर्कीस्थित ती दश देशका राजदूतले एउटा संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेका थिए । सरकारको विरोध र सरकारै अपदस्थ गर्ने प्रयासको आरोपमा काभाला चार वर्षदेखि कारागारमा थुनिएका छन् । अझै उनीमाथि लगाइएका कुनै पनि आरोप प्रमाणित भने भएका छैनन् ।

न त अदालतले नै उनलाई दोषी ठहर गरेको छ । काभालालाई रिहा गर्न मानवअधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न युरोपको मानवअधिकारसम्बन्धी निकाय काउन्सिल अफ यूरोपले अन्तिम चेतावनी दिएको थियो ।

शनिबार सो कूटनीतिक समूहलाई संकेत गर्दै एर्दोगानले कूटनीतिक हैसियत नभएका राजदूतहरूले विदेश मन्त्रालय पुगेर आदेश दिन नपाउने धारणा व्यक्त गरका थिए । उनले तिनीहरूलाई तत्कालै देश छोड्न सल्लाहसमेत दिएका छन् । तुर्केली सञ्चार माध्यमले पनि राष्ट्रपतिलाई उदरित गर्दै ती दूतहरूले कि त टर्कीलाई बुझ्नुपर्ने या त छोड्नुपर्ने जनाएका छन् । तर ती सम्बन्धित राजदूतावासहरूले भने यस बारेमा आधिकारिक सूचना नपाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्