कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर उसुगा पक्राउ



वोगोटा, (एजेन्सी) ।

कोलम्बियाको सबैभन्दा कुख्यात तथा ठूलो अपराधिक समूहका नाइके तथा लागुऔषध ओसार प्रसारका लागि लामो समयदेखि अत्यन्तै खोजीको सूचीमा रहेका व्यक्तिलाई पक्रन प्रहरी सफल भएका छन् । प्रहरीलाई डाइरो एन्टोनियो उसुगा उर्फ ओटोनियललाई शनिबार गिरफ्तार गर्न स्थल सेना र हवार्ई सेनाले पनि पूरापुर सहयोग गरेका थिए ।

कोलम्बियाको सेनाले आफ्ना सिपाहीहरूद्वारा हतकडी लगाइएका दाइरो एन्टोनियो उसुगाको तस्वीर सार्वजनिक गरी उनी पक्राउ परेको जनाएको छ ।

कोलम्बियाको सरकारले उनको ठेगानाको बारेमा जानकारी दिनेका लागि ८ लाख अमेरिकी डलर पुरस्कारको घोषणा गरेको थियो । त्यसैगरी अमेरिकाले पनि उनको टाउकोको मूल्य लागि लाख डलर तोकेकोे थियो । कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजनमा भिडियो सन्देश मार्फत उनको गिरफ्तारीको स्वागत गरेका छन् । साथै ड्यूकले यस शताब्दीमा कोलम्बियाको लागुऔषध तस्करी विरुद्धको यो घटना सबैभन्दा ठूलो प्रहार भएको प्रतिक्रिया दिएका छन् । उनले यो प्रहार सन् १९९० को दशकमा पाब्लो एस्कोबारको पतनसँग मात्र तुलना गर्न सकिने विचार पनि व्यक्त गरेका छन् ।

लागु औषध तस्करहरूको यो गिरोह कोलम्बियाका धेरै प्रान्तहरूमा सञ्चालित भएको बताइएको छ । व्यापक रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध र कारोबार भएको सो समूहको लागुऔषध र मानव तस्करी, अवैध सुन खानी र जबरजस्ती पैसा उसुलीजस्ता कार्यमा संलग्नता रहेको बताइएको छ ।

पानामाको सिमानानजिकै उत्तर –पश्चिमी कोलम्बियाको एन्टियोक्विया प्रान्तको ग्रामीण क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा उसुगा पक्राउ परेका हुन् । यससम्बन्धी अपरेसनको विस्तृत विवरण आउन बाँकी नै रहेको छ । तर, कोलम्बियाका राष्ट्रपतिले ड्युकले सो अपरेसनमा एकजना प्रहरी अधिकारी मारिएको बताएका छन् ।

उसुगाकोे समूहमा लगभग १ हजार ८ सयजना सशस्त्र सदस्य रहेको तथा ती अधिकांश सदस्य अति दक्षिणपन्थी अर्धसैनिक समूहहरूबाट आएको बताइएकोछ । ती सदस्यहरू अर्जेन्टिना, ब्राजिल, होन्डुरस, पेरु र स्पेनबाट समेत आएका छन् ।

सो गिरोहले कोलम्बिया देखि अमेरिका र धेरै टाढा रसियाबाट लागुऔषध तस्करीको लागि प्रयोग हुने प्रमुख मार्गहरूलाई समेत नियन्त्रण गर्दै आएका थिए । उसुगाविरुद्ध अमेकिामा कोकिन पठाएको , तस्करी कार्यका लागि बालिबालिकाको प्रयोग तथा प्रहरी अधिकारीहरूको हत्या गरेको जस्ता थुप्रै अरोपको सामना गनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्