ताइवानमाथिको आक्रमणको प्रतिवाद हुन्छ : बाइडेन



वासिंगटन,(एजेन्सी) ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा अमेरिकाले त्यसको सही तरिकाले प्रतिवाद गर्ने जनाएका छन् । यसले अमेरिकाले आफ्नो लामो समयदेखिको विदेश नीतिको अडान परिवर्तन हुन लागेको स्पष्ट भएको छ । तर, बाइडेनको सो भनाइ सार्वजनिक भएको केही समयपछि नै ह्वाइट हाउसका प्रवक्ताले केही अमेरिकी सञ्चार माध्यमलाई बाइडेनको सो टिप्पणीले विदेश नीतिमा परिवर्तन आउन लागेको संकेत दिन नखाजेको स्पष्ट पारेका थिए ।

वास्तवमा ताइवानको प्रतिरक्षा गर्नका लागि पनि अमेरिकासँग एउटा विशेष कानुनको व्यवस्था रहेको छ । तर, यदि साँच्चै चीनले ताइवानमाथि आक्रमण गरिहालेको खण्डमा अमेरिकाले कस्तो सामरिक नीति लिइनेछ त भन्ने स्पष्ट व्याख्या भने गरिएको छैन ।

चीनले भने अझैसम्म बाइडेनको यस टिप्पणीप्रति कुनै प्रतिक्रिया व्यक्त गरिसकेको छैन । सीएनएन टाउनहलमा आयोजित एक कार्यक्रमका दौडान एकजना सहभागीले चीनले हालसालै एउटा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उल्लेख गर्दै यदि चीनले ताइवानमा आक्रमण गरेको खण्डमा चीनको सैनिक विकाससँग कसरी सामना गरिनेछ भने सोधेको प्रश्नको जवाफमा बाइडेनले चीन र रसियालगायत सम्पूर्ण विश्वलाई संसारको इतिहासमै अमेरिका सैन्य शक्तिमा सबैभन्दा शक्तिशाली रहेको अवगत भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्